काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल)का दुई फ्रेन्चाइजीले दुई कप्तान भित्र्याउन ५३ करोड ७५ लाख भारु खर्च गरेका छन्।
साउदी अरबको जेद्दाहमा मेगा अक्सनमा भारतीय विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई लखनऊ सुपर जायन्ट्सले २७ करोडमा किनेको छ। योसँगै उनी आइपिएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन्। पन्तअघि पञ्जाबले श्रेयस अय्यरलाई २६ करोड ७५ लाखमा किनेको थियो। यी दुई इतिहासकै सबैभन्दा महँगा दुई भारतीय खेलाडी बनेका छन्।
लखनऊ र रोयल्स च्यालेन्जर्स बैंगलोरले सुरुमा पन्तका लागि बोली लगाए। सनराइजर्स हैदरावादले पछि ११ करोड ७५ लाख खर्च गर्ने मनसाय बनाएको थियो। तर, केएल राहुलको बहिर्गमनसँगै कप्तानको खोजिमा रहेको लखनऊले २० करोड ७५ लाखको अन्तिम बोली लगायो। त्यसपछि दिल्लीले आफ्नो राइट टु म्याच कार्ड (आरटिएम) कार्ड प्रयोग गर्यो। अक्सनमा लखनऊलाई अन्तिम बोलीको लागि सोधिएको थियो। जसमा टोलीले सबैभन्दा बढी बोली लगायो र उनलाई आफ्नो टोलीमा समावेश गर्यो।
पन्तलाई दिल्लीले २०२० मा कप्तान बनाएको थियो। त्यसपछि अर्को वर्ष उनी कार दुर्घटनाका कारण टोलीबाट बाहिर भए। पन्त २०२४ मा फेरि दिल्लीको कप्तानीमा फर्किएका थिए। उनले १३ खेलमा ४४६ रन बनाए, जसमा तीन अर्धशतक पनि समावेश छ।
मार्की लिस्टका तेस्रो क्याप खेलाडी श्रेयसलाई पञ्जाबले २६ करोड ७५ लाख करोडमा किनेको थियो। योसँगै उनी आईपीएल इतिहासकै सबैभन्दा महँगा क्रिकेटरको सूचीमा दोस्रो स्थानमा रहे। उनको आधार मूल्य दुई करोड थियो। श्रेयसअघि अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कलाई पछिल्लो मिनी अक्सनमा कोलकाताले २४ करोड ७५ लाखमा किनेको थियो।
एक दिनअघि सैयद मुश्ताक अली ट्रफीमा मुम्बईका लागि खेल्दा श्रेयसले गोवाविरुद्ध ५७ बलमा अविजित १३० रन बनाएका थिए। उनले गत वर्ष कोलकाताबाट खेलेका थिए। उनले आफ्नो कप्तानीमा उपाधि दिलाएका थिए।