काठमाडौं। स्पिनर युजवेन्द्र चहललाई पञ्जाब किंग्सले भित्र्याएको छ। साउदी अरबको जेद्दाहमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनमा उनलाई पञ्जाबले १८ करोड भारुमा किनेको हो।
पञ्जाब भित्रिने उनी दोस्रो महँगा खेलाडी हुन्। यसअघि पञ्जाबले श्रेयस अय्यरलाई २६ करोड ७५ लाख भित्र्याएको थियो। यस्तै, अर्शदीप सिंहलाई १८ करोड खर्चेर राइट टु म्याच कार्ड (आरटिएम) प्रयोग गर्दै फिर्ता ल्याएको थियो।
योसँगै चहल आइपिएल इतिहासकै सबैभन्दा महँगा भारतीय स्पिनर बनेका छन्। उनको आधार मूल्य २ करोड थियो। गत सिजन चहलले राजस्थान रोयल्सबाट खेल्दै १५ खेलमा १८ विकेट लिएका थिए।
चहल आइपिएल इतिहासमा सर्वाधिक विकेट लिने खेलाडी पनि हुन्। उनले सन् २०१३ मा आइपिएलमा डेब्यु गरेका थिए। त्यसयता उनले १६० खेलमा २०५ विकेट लिएका छन्।
पञ्जाबले अहिलेसम्म तीन खेलाडीमा सर्वाधिक ६२.७५ करोड रुपैयाँ खर्च गरेको छ। टोलीसँग अक्सनका लागि कुल ११०.५० करोड थियो। अब फ्रान्चाइजीसँग ४७ करोड ७५ लाख बाँकी छ।