काठमाडौं। बलर अर्शदीप सिंह पञ्जाब किङ्समै फर्किएका छन्। साउदी अरबको जेद्दाहमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनमा उनलाई पञ्जाबले १८ करोड भारुमा भित्र्याएको हो।
उनलाई चेन्नई सुपर किङ्स र दिल्ली क्यापिटल्सले सुरुआती बोली लगाएका थिए। चेन्नई र दिल्लीले ७ करोड ५० लाख रुपैयाँसम्म बोली लगाएको थियो। त्यहाँबाट गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्स पनि प्रवेश गरे।
१२ करोडको बोली लागेपछि बैंग्लोर बाहिरिएको थियो। तर, त्यसपछि सनराइजर्स हैदरावादले पनि उनीमाथि बोली लगायो। १३ करोडपश्चात् राजस्थान बिडबाट बाहिरिएको थियो। अन्तमा हैदरावादले १५ करोड ७५ लाखसम्म उनीमाथि बोली लगाएको थियो। तर, पञ्जाबले उनलाई आरटीएम प्रयोग गर्दै १८ करोड भारूमा फिर्ता ल्यायो। उनले अघिल्लो संस्करणको आइपिएल पनि पञ्जाब किङ्सबाट खेलेका थिए।