काठमाडौं। भारतले बोर्डर गावस्कर ट्रफीमा अस्ट्रेलियालाई ५३४ रनको लक्ष्य दिएको छ। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले दोस्रो इनिङ्समा ४८७ रन बनाएको थियो। जवाफमा अस्ट्रेलियाको पहिलो इनिङ्स १०४ रनमा समेटियो। दोस्रो इनिङ्समा भारतले ४६ रनको अग्रता लिएको थियो। यस क्रममा भारतले ५३३ रनको अग्रता लिएको हो।
दोस्रो इनिङ्समा सबै जना विराट कोहलीको शतकको प्रतिक्षामा थिए। उनले शतक बनाउने बित्तिकै भारतीय ड्रेसिङ रुमबाट इनिङ्स समाप्तिको घोषणा गर्ने निर्णय भएको हो। कोहलीले १४३ बलमा अविजित १०० रनको इनिङ्स खेले। उनले ८ चौका र २ छक्का प्रहार गरे। यो उनको टेस्ट करियरको ३०औं शतक हो भने समग्रमा तीनै फर्म्याटमा ८१औं शतक हो। अस्ट्रेलियामा उनको यो सातौं शतक हो। उनले सचिन तेन्दुलकरलाई उछिन्दै अस्ट्रेलियाको भूमिमा सबैभन्दा धेरै टेस्ट शतक बनाउने भारतीय ब्याट्सम्यान बनेका छन्। सचिनले ६ शतक बनाएका थिए।
कोहलीबाहेक नितिश रेड्डीले २७ बलमा ३ चौका र २ छक्काको मद्दतमा अविजित ३८ रन बनाए। विराट र नितिशले सातौं विकेटका लागि ५४ बलमा अविजित ७७ रनको साझेदारी गरे।
विराटभन्दा पहिले यशस्वी जयसवालले शतकीय इनिङ् खेल्दै १६१ रन बनाएका थिए। उनले १५ चौका र ३ छक्का प्रहार गरे। यो उनको टेस्ट करियरको चौथो शतक हो। यस्तै, केएल राहुलले ५ चौकाको मद्दतमा ७७ रन बनाए। देवदत्त पडिक्कलले २५ र वासिङ्टन सुन्दरले २९ रन बनाए। ऋषभ पन्त र ध्रुव जुरेलले चल्न सकेनन् र १–१ रन जोडे। अस्ट्रेलियाका लागि नाथन लियोनले दुई तथा मिचेल स्टार्क, जोश हेजलवुड, प्याट कमिन्स र मिचेल मार्शले एक–एक विकेट लिए।