काठमाडौं। संकटा क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा शुक्रबार मछिन्द्र क्लबविरुद्ध ९ मिनेटमा तीन गाेल गर्दै पुनरागमन जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा शुक्रबार भएको खेलमा संकटाले ४–२ जित निकालेको हो। जितसँगै ११ खेलमा १८ अंक जोडेको संकटा पाँचौं स्थानमा उक्लिएको छ। पराजित मछिन्द्र समान खेलबाट समान अंकका साथ छैटौं स्थानमा छ।
संकटालाई जित दिलाउन कृष्णबहादुर आलेमगरले दुई तथा सविनकुमार लुंगेलीमगर र सुदीप लामाले समान एक गोल गरे। मछिन्द्रका कविर तामाङ र रोनिक रानामगरले गोल गरे।
२७औं मिनेटमा कविरको पेनाल्टी गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो। तर, उक्त अग्रता मछिन्द्रले जोगाउन सकेन। ५७औं मिनेटमा सविनले संकटालाई खेलमा फर्काए।
७८औं मिनेटमा वैकल्पिक खेलाडी रोनिकले पेनाल्टीमा गोल गर्दै मछिन्द्र २–१ को अग्रता पुनः दिलाए। त्यसपछि संकटाले ९ मिनेटमा तीन गोल गर्दै जित हात पा¥यो। ८४औं मिनेटमा कृष्णले गोल गर्दै संकटालाई २–२ को बराबरीमा ल्याए।
निर्धारित ९० मिनेट खेल सकिन एक मिनेट बाँकी रहँदा कृष्णले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई ३–२ ले अगाडि बढाए। इन्जुरी समयमा सुदीपले गोल गर्दै संकटाको ४–२ को जित पक्का गरे।