काठमाडौं। ललित स्मृति एन्फा यु–१८ युथ लिगअन्तर्गत विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब हारबाट जोगिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा आर्मीले नेपाल एपिएफ फुटबल क्लबसँग २–२ को बराबरीमा खेलेको हो। योसँगै ११ खेलमा १७ अंक जोडेको एपिएफ छैटौं स्थानमा यथावत छ। आर्मी समान खेलबाट नौ अंकका साथ १०औं स्थानमा छ।
आर्मीका रुस्तम थापामगर र अनुभव पुरी गोल गरेका थिए। एपिएफका सञ्जय योञ्जन र सुनिल थिङले गोल फर्काए। खेलको पाँचौं मिनेटमा रुस्तमको गोलमार्फत आर्मीले सुरुआती अग्रता लियो। तर, २४औं मिनेटमा सञ्जयले एपिएफलाई खेलमा फर्काए।
३१औं मिनेटमा सुनिलले गोल गर्दै एपिएफलाई २–१ को अग्रता दिलाए। ६५औं मिनेटमा अनुभवले गोल गर्दै आर्मीलाई २–२ अवस्थामा फर्काए।