काठमाडौं। भारत र अस्ट्रेलियाबीचको पाँच खेलको बोर्डर गावस्कर ट्रफी सिरिजको पहिलो खेल पर्थ स्टेडियममा जारी छ। भारतले टस जितेर पहिले ब्याटिङ रोजेको थियो र यो निर्णय खराब साबित भएको छ।
जोस हेजलवुडको चार विकेटको मद्दतमा भारत पहिलो इनिङ्समा १५० रनमा अलआउट भएको छ। भारतका लागि ऋषभ पन्तले ३७ र नितिशकुमार रेड्डीले ४१ रनको योगदान दिए।
भारतका शीर्षक्रमका ब्याट्सम्यानले उछाल र गतिको सामना गर्न नसक्दा अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टको पहिलो दिन शुक्रबार लन्चसम्म ५१ रनमा चार विकेट गुमाएका थिए।
भारतका लागि केएल राहुलले ७४ बलमा २६ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले कृजमा टिक्न सकेनन्। युवा ओपनर यशस्वी जयसवाल र देवदत्त पडिक्कलले खाता समेत खोल्न सकेनन् भने विराट कोहली (पाँच) ले आफ्नो खराब लयलाई निरन्तरता दिए।
लन्चसम्म पन्तले १० र ध्रुव जुरेलले चार रन बनाए। ठीक एक वर्षअघि दक्षिण अफ्रिकाविरुद्ध सेन्चुरियन र केपटाउन टेस्टमा असहाय देखिएका जयसवाललाई मिचेल स्टार्कले समस्यामा पारेका थिए।
जयसवालले ब्याटबाट खराब सट खेल्दै मार्नस लाबुशेनलाई गल्लीमा क्याच आउट गराए। घाइते शुभमन गिलको स्थानमा आएका देवदत्त पडिक्कल पनि सहज देखिएनन्। उनी २३औं बलमा हेजलवुडको शिकार भए भने एलेक्स क्यारीले उनको सहज क्याच लिए।