काठमाडौं। चितवन राइनोजले बुधबार गौतमबुद्ध नमुना रंगशालामा ‘ब्याटल अफ राइनोज: ब्रेकिङ द क्र्यास’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रममा राइनोज व्यवस्थापन र राइनोजका खेलाडीबीच मैत्रीपूर्ण प्रतिस्पर्धा भएको थियो। फ्रेन्चाइज अध्यक्ष आयुष न्यौपाने, चितवन क्रिकेट संघका अध्यक्ष सुदीप पियालगायत टोलीसँग आवद्ध व्यक्तित्वहरु राइनोज व्यवस्थापनको टोलीमा रहेका थिए।
राइनोजका खेलाडीहरूलाई दुई पक्षहरू बीचको स्तर सन्तुलन गर्न विपरीत हातहरु प्रयोग गरेर प्रतिस्पर्धा गर्न चुनौती दिइएको थियो। यो नियमले मनोरञ्जनको ठूलो तत्व थप्यो। फ्रेन्चाइजले कार्यक्रमको मार्फत टोलीका सदस्यहरू, र व्यवस्थापनका बीच सौहार्द सिर्जना गर्ने जमर्को गरेको थियो।
खेलमा राइनोज खेलाडी टोली विजयी भए। कार्यक्रमलाई सफल बनाउन सम्बद्ध सबैमा फ्रेन्चाइज व्यवस्थापन टोलीले हार्दिक आभार प्रकट गर्दछ।
कार्यक्रमपछि बोल्दै चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले भने, ‘यो कार्यक्रम चितवन राइनोज परिवारमा अघि बढिरहेको एकता र दृढताको उत्सव हो। ’
राइनोजका मार्की खेलाडी कुशल मल्लले पनि कार्यक्रममा खुशी व्यक्त गरे। उनले भने, ‘टोली भित्र बलियो बन्धन बनाउनको लागि आजको खेल महत्वपूर्ण रह्यो। हाम्रो मस्कट मिस्टर गैंडा को संलग्नताले कार्यक्रममा रमाइलो पनि थप्यो।’