काठमाडौं। खेलको इन्जुरी समयको नवौं मिनेटमा डोमिनिक स्जोबोज्लाईले पेनाल्टीमा गोल गर्दै नेसन्स लिगको क्वाटरफाइनलमा पुगिसकेको जर्मनीबाट जित खोसेका छन्।
यसअघि नै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको जर्मनी फेलिक्स नमेचाको गोलसँगै जितको बाटोमा थियो। तर, डिफेन्डर मिहाली काटाको प्रहार रोबिन कोचको हातमा लाग्दै बाहिरिएपछि जर्मन खेलले अन्तिममा अर्को मोड लियो।
भिडियो रिभ्युपछि स्जोबोस्लाईले पेनाल्टीमा गोल गर्दै हंगेरीलाई १–१ गोलको बराबरीमा ल्याए। योसँगै हंगेरीले घरेलु मैदानमा अपराजित यात्रालाई कायम राखेको छ। हंगेरी जून २०२२ देखि १३ खेलसम्म अपराजित छ। हंगेरी नेसन्स लिगको अघिल्लो संस्करणमा इटालीसँग पराजित भएको थियो।
हंगेरीले बराबरी गरेपछि सन् २०२४ मा बलियो प्रदर्शन गरेको जर्मनीले अझै सुधार गर्न आवश्यक रहेको देखिएको जर्मनीका प्रशिक्षक जुलियन नागेल्सम्यानले बताए।
उनले भने, 'हंगेरीले १–१ को बराबरीलाई उत्सवमा मनाइरहेको छ, त्यो हाम्रो टोलीका लागि पनि केही फरक कुरा हो।' खेलको ७६ औं मिनेटमा नेमेचाले रिबाउन्डमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। घाइते मार्क आन्द्रे टेर स्टेगेनको अनुपस्थितिमा जर्मनीको शीर्ष गोलकिपरको रूपमा आफ्नो स्थान पक्का गर्न खोजिरहेका नुबेल खतरनाक हंगेरीको काउन्टर अट्याकमा व्यस्त बनाएको थियो।
प्रशिक्षक नागेल्सम्यानले नमेचा र फरवार्ड क्रिस फुहरिच दुवैलाई टोलीमा डेब्यु गराएका थिए। जुलियन ब्रान्ड्टले एक वर्षपछि जर्मनीको जर्सीमा खेले। यद्यपि, म्यानचेस्टर सिटीका गोलकिपर स्टेफन ओर्टेगाले आफ्नो स्थान बनाउन सकेनन्। उनलाई यसै महिना पहिलो पटक जर्मनीको टोलीमा बोलाइएको थियो।
पोर्चुगल, फ्रान्स, जर्मनी र स्पेन समूह विजेता तथा क्रोएसिया, इटाली, नेदरल्यान्ड्स र डेनमार्क उपविजेताका रूपमा नेसन्स लिगको क्वाटरफाइनलमा स्थान बनाइसकेका छन्।