काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को प्रत्यक्ष प्रसारण गर्न स्टार स्पोर्ट्ससँग सम्झौता गरेर कानुनको बर्खिलाप गर्न खोजेको तीन संस्थाहरूले आरोप लगाएका छन्।
क्यान आफैंले मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो संस्करणको एनपिएल आयोजना गर्न लागेको छ। उक्त प्रतियोगितामा नेपाली खेलाडीले प्रहार गरेको चौका र छक्काका साथै ह्याट्रिक विकेट लिएको क्षण विश्वलाई देखाउने भन्दै क्यान सचिव पारस खड्काले भारतीय चर्चित च्यानल स्टार स्पोर्ट्ससँग प्रत्यक्ष प्रसारण गर्ने सम्झौता गरेको जानकारी दिएका थिए।
त्यही सम्झौताका केही कानुनी र नैतिक तथ्यमा अवैधानिक तथा गैर कानुनी क्रियाकलाप जानाजान वा भुलवश हुन गएको नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्सले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै जनाएका हुन्। त्यसैले आफूहरूले उजागर गरेर ती अवैधानिक र अनैतिक हुने गल्ती तत्काल सच्चाउन र त्यस्ता कानुनको बर्खिलाप हुने कार्य बन्द उनीहरूले आग्रह गरेका छन्।
यी तीन संस्थाले खेल देखाएबापत क्यानले उल्टै प्रतिखेल १० लाखमा दिने सम्झौता नेपालको कानुनले अनिवार्य गरेको सार्वजनिक खरिद ऐन र खेलकुद ऐनको धारा ४४ को बुँदा नं. २ विपरीत भएको ठहर गरेको छ। उक्त बुँदामा कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलकुद आयोजना गर्दा कुनै पनि अन्तर्राष्ट्रिय संस्थासँग सम्झौता गर्दा मन्त्रिपरिषद्को स्वीकृति अनिवार्य रहेको उल्लेख छ। तर, पूर्ण रूपमा यसलाई बेवास्ता गरिएको उनीहरूको आरोप छ।
यसबाट नेपाली उत्पादन, प्रसारण तथा बजार व्यवस्थापक संस्थाको राष्ट्रिय खेलकुद प्रतियोगिता उत्पादन, प्रसारण र बजार व्यवस्थापन गर्ने हक र अधिकारबाट वञ्चित समेत गरेको उनीहरूले उल्लेख गरेका छन्।