काठमाडौं। कर्णाली याक्सले मंगलबार ‘ट्यालेन्ट हन्ट’बाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्समा छनोट गरेको छ।
हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले सुर्खेत वीरेन्द्रनगरमा भएको छनोट कार्यक्रमबाट छानिएका पाँच उत्कृष्ट खेलाडीको मध्यबाट विपिनलाई आइकोनिक खेलाडीमा छनोट गरेको हो।
आइकोनिक खेलाडी बनेसँगै विपिनले नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सको प्रतिनिधित्व गर्न पाउने छन्।
कर्णालीले ‘ट्यालेन्ट हन्ट’बाट विपिनसँगै मनिष थापा, निश्चल रावल, राजप्रसाद शाह र अरविन्द घर्तीलाई छानेको थियो। उनीहरुले प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन्। बाँकी चार खेलाडीलाई पनि विशेष प्रशिक्षणको व्यवस्था गरिएको क्लबले बताएको छ।
ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन्। प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदैछ।