काठमाडौं। विजय उर्नावको दुई गोलप्रेरित थ्रीस्टार क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा मच्छिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा थ्रीस्टारले मच्छिन्द्रलाई २–० ले पन्छाएको हो। यो हारसँगै मच्छिन्द्र १८ अंकमा यथावत् छ। १० खेल खेलेको मच्छिन्द्रले पाँच जित, तीन बराबरी र दुई हार बेहोरेको छ।
खेलको नवौं मिनेटमै विजयको गोलमार्फत थ्रीस्टारले सुरुआती अग्रता लियो। मच्छिन्द्रका डिफेन्डरको गलत पासमा उनले गोल गरेका हुन्। यो गोलसँगै ५४औं मिनेटमा लामो पासमार्फत आएको बललाई मच्छिन्द्रका डिफेन्डरले सही जर्जमेन्ट गर्न नसक्दा विजयले नै अर्को गोल थपे।
अनिश थिङले रातो कार्ड पाएपछि ७७औं मिनेटमा मच्छिन्द्र १० खेलाडीमा समेटियो। त्यसपछि मच्छिन्द्रले खेलमा फर्किने अवसर पाएन। जितसँगै पाँचौं स्थानमा उक्लिएको थ्रीस्टारले १० खेलबाट १६ अंक पुर्याएको छ।