काठमाडौं। न्युजिल्यान्डका फास्ट बलर टिम साउथीले अर्को महिना इङ्ल्यान्डसँग घरेलु मैदानमा टेस्ट शृंखला खेल्दै सन्यास लिने भएका छन्।
अर्को महिना इङ्ल्यान्डले न्युजिल्यान्डको भ्रमण गर्ने तय छ। शृंखलाको अन्तिम खेल साउथीको घरेलु मैदान ह्यामिल्टनमा हुनेछ। त्यो खेल साउथीको टेस्ट करियरको अन्तिम खेल हुनेछ।
३५ वर्षीय साउथीले हालसम्म १०४ टेस्ट खेलमा ३८५ विकेट लिएका छन्। उनले मार्च २००८ मा नेपियरमा इङ्ल्यान्डविरुद्ध १९ वर्षको उमेरमा डेब्यु गरेका थिए र टोलीविरुद्ध खेल्दै आफ्नो टेस्ट करियरको अन्त्य गर्नेछन्। तर, न्युजिल्यान्ड विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुगेमा उनी जुनमा लर्ड्समा हुने फाइनलका लागि उपलब्ध हुनेछन्।
भर्खरै उनले भारतमा न्युजिल्यान्डको ऐतिहासिक ३–० शृंखला जितमा महत्त्वपूर्ण भूमिका खेलेका थिए, जुन २०१२–१३ पछि विदेशी टोलीको पहिलो जित हो। उनले पहिलो दुई टेस्टमा तीन विकेट मात्र लिएका थिए। तर, यस शृंखलाको पहिलो खेलमा भारतका कप्तान रोहित शर्माको विकेट पनि समावेश थियो। यसपछि सोही खेलको दोस्रो इनिङ्समा उनले १५० रन बनाएका सर्फराज खानको विकेट लिए।
त्यो शृंखला अघि साउथीले टम लाथमलाई टेस्ट कप्तानी सुम्पेका थिए। सन्यासको घोषणा गर्दै साउथीले भने, ‘बाल्यकालदेखि नै मेरो सपना न्युजिल्यान्डको प्रतिनिधित्व गर्ने थियो। १८ वर्षदेखि ब्ल्याक क्याप्सका लागि खेल्न पाउनु मेरो लागि सबैभन्दा ठूलो सम्मान र सौभाग्य हो। म आफ्नो टेस्ट करियरको अन्तिम खेल त्यही टोलीसँग खेल्नेछु, जसबाट मैले करियर सुरु गरेको थिएँ।’
साउथीलाई अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो शानदार करियरमा न्युजिल्यान्डको सबैभन्दा सफल बलरको रूपमा सम्झिनेछ, जसले अहिलेसम्म ७७० विकेट लिएका छन्।