काठमाडौं। कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ।
हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका ३८ वर्षीय बायाँ हाते ओपनर धवनलाई बिहीबार अनुबन्ध गरेको जानकारी गरायो।
सम्झौतामा मालिक झनक दत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन्। सम्झौता रकम भने गोप्य राखिएको छ। धावनले भारतसँगै आईपिएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका छन्।
उनले सन् २०१६ मा हैदरावादलाई आईपिएल जिताएका थिए। त्यस्तै, भारतलाई एसिसी एसिया कपको उपाधि जिताएका छन्।कर्णाली याक्समा अनुबन्ध भएका धवनले भारतको लागि ३२ टेस्टमा दुई हजार तीन सय १३ रन बनाएका छन्। १६७ एकदिवसीय खेलमा ६ हजार ७९३ रन बनाएका छन्। त्यस्तै, ६८ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ७५९ रन बनाएका छन्।
धवनले आगामी लिगमा कर्णाली याक्सबाट खेल्न उत्साहित भएको बताएका छन्। ‘कर्णाली याक्सले मलाई लिगको लागि अनुबन्ध गरेको छ। यो लिग खेल्न म निकै उत्साहित छु,’ धवनले भने।
ज्ञानेन्द्र मल्ल मुख्य प्रशिक्षक रहेको कर्णाली याक्सले चौथो विदेशी खेलाडी भित्राएको हो। यसअघि वेस्ट इन्डिजका चादविक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले एनपिएल खेल्ने पक्का भइसकेको छ।
टिमको मार्की खेलाडीमा राष्ट्रिय टिमका तिव्रगतिका बलर सोमपाल कामी छन्। यस्तै, टोलीमा राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहित नन्दन यादव छन्। अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन्। ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन्। प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदैछ।