काठमाडौं। कर्णाली याक्सले ‘ट्यालेन्ट हन्ट’ शुक्रबार गर्ने भएको छ। मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल कर्णाली पुगेर प्रतिभावान खेलाडी छनोट गर्नेछन्।
‘हामी कर्णालीमा रहेका र अक्सनबाट छुटेका खेलाडीलाई पनि समेट्ने प्रयास गर्नेछौं,’ उनले भने। ट्यालेन्ट हन्ट विरेन्द्रनगरको कर्णाली रंगशालामा हुने छ। कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका तीव्र गतिका बलर सोमपाल कामी छन्। यस्तै, टोलीमा राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहित नन्दन यादव छन्।
कर्णाली याक्सले वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरिसकेको छ।
नेपाली अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन्। ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन्। प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदैछ।