काठमाडौं। आइसिसी यु–१९ महिला टी–टवेन्टी विश्वकप एसिया छनोट कठिन मोडमा पुगेको छ। अब यही निर्णायक खेल हो, जसले अर्को वर्ष मलेसिया हुने विश्वकपमा एसियाबाट पुग्ने एक टोलीको टुंगो लगाउने छ। यो निर्णायक खेलमा भिड्दै छन्, घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) र नेपाल।
युएई मात्रै त्यस्तो टोली हो, जसले हारको सामना गर्न परेको छैन । पाँच खेलमा १० अंक पुर्याएको युएई अंकमा मात्रै होइन नेट रनरेटमा पनि नेपालभन्दा अगाडि छ। चौथो खेलमा युएईसँग १३ रनले पराजित भएसँगै नेपाल छनोटमा पछि परेको थियो। युएईले पाँचौं खेलमा थाइल्यान्डलाई नौ विकेटले हराउँदै छनोटको सम्भावना बलियो बनाएको छ। यस्तोमा बुधबार हुने युएई र नेपालबीचको अन्तिम खेलले नै यो क्षेत्रबाट अर्को वर्ष मलेसिया हुने विश्वकपमा पुग्ने टोलीको टुंगो लगाउने छ ।
युएईको अजमानस्थित द सेभेन स्टेडियममा हुने खेल नेपाली समयअनुसार १:३० बजेबाट सुरु हुनेछ। यो खेल जित्दै नेपाल विश्वकपमा पुग्न आतुर छ। नेपालले पहिला ब्याटिङ गरेर १४० रनको लक्ष्य दिए विश्वकपमा पुग्न युएईलाई १६.१ ओभरमा रोक्नपर्ने हुन्छ। यस्तै, यदि युएईले १४० रनको लक्ष्य दिएमा नेपाललाई विश्वकपमा पुग्न २१ को जित आवश्यक हुनेछ।
छनोटचरण पार गर्दै अफ्रिकाबाट नाइजेरीया, अमेरिकी क्षेत्रबाट अमेरिका, पूर्वी एसियाबाट सामोअ र युरोपबाट स्कटल्यान्डले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।
आयोजक भएको नाताले मलेसियाले सीधै स्थान बनाउँदा अस्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, भारत, आयरल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिज भने अघिल्लो विश्वकपमा गरेको प्रदर्शनका आधारमा छनोट भइसकेका छन्। अब विश्वकपमा सहभागी हुने अन्तिम टोली नेपाल या युएई को हुन्छ यही खेलले निक्यौल गर्नेछ।