डुसान्बे। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले माथिल्लो वरीयताको ताजिकिस्तानविरुद्ध बुधबार हुने मैत्रीपूर्ण खेलमा आक्रामक फुटबल खेल्ने बताएका छन्।
‘ताजिकस्तान बलियो टोली हो,’ मंगलबार डुासन्बेमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले ताजिकस्तानसँग तीनपल्ट खेलिसकेका छौं। कडा मिहिनत गर्दै संगठित रूपमा काउन्टर अट्याकमा खेल्नेछौं। खेलमा १–२ अवसर पाउँछ र त्यसलाई उपयोग गर्दै सकारात्मक रिजल्ट दिनेछौं।’
घरेलु फुटबलमा सफल न्यौपानेले पहिलोपल्ट राष्ट्रिय टोली सम्हाल्ने अवसर पाएका हुन्। यस्तोमा नेपालले फिफा वरीयतामा ७१ स्थानमाथिको ताजिकस्तान र २५ स्थानमाथिको अफगानिस्तानविरुद्ध डुसान्बेमा प्रतिस्पर्धा गर्न लागेको हो।
पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका न्यौपानेले भने, ‘हाम्रा लागि बलिया टोलीसँग खेल्नु एउटा राम्रो अवसर हो। मेरो पनि राष्ट्रिय टोलीमा पहिलो जिम्मेवारी हो। त्यसैले मेरो लागि ठूलो चुनौती छ। आशा गर्छु कि मेरो टोलीले उत्कृष्ट प्रदर्शन गर्दै राम्रो रिजल्ट दिनेछ।’
झन्डै दुई साताको तयारीपछि नेपाली टोली ताजिक राजधानीमा दुई मैत्रीपूर्ण खेल खेल्न आइपुगेको हो। यसका निम्ति उनले नयाँ चार खेलाडीलाई समावेश गर्दै २३ सदस्यीय टोली छनोट गरेका छन्। अनुभवी कप्तान किरण चेम्जोङ, डिफेन्डर रोहित चन्द, अन्जन विष्टको पनि साथ छ।
विगतमा नेपालले ताजिकस्तानविरुद्ध तीन खेल खेलेको छ। तर, ती सबै खेलमा नेपाल हारेको तथ्यांक छ।
‘दुवै खेल कठिन’
‘ताजिकस्तान राम्रो टोली हो। खेलाडीहरू स्तरीय छन्,’ कप्तान किरण चेम्जोङले भने, ‘मेरो करिअरमा हामीले ताजिकस्तानविरुद्ध एसियन कप छनोटसहित तीन खेल खेलेका छौं र तीनपल्टै हारेका छौं। शारीरिक र प्राविधिक रुपमा ताजिक खेलाडी राम्रा छन्। हामी मानसिक रूपमा पनि ताजिकस्तानविरुद्ध भिड्न तयार छौं। भोलिको खेल प्रतिस्पर्धात्मक हुनेछ।’
एसियन कप २०२३ को अन्तिम आठसम्म पुगेको ताजिकस्तानविरुद्ध प्रतिस्पर्धा गरेपछि नेपालले डुसान्बे मै शनिबार अफगानिस्तानको सामना गर्नेछ। यी दुवै खेल कठिन हुने पनि कप्तान किरणले बताए।