काठमाडौं। लिभरपुलका पूर्व प्रशिक्षक जर्गेन क्लोपप्रति अपमानजनक टिप्पणी गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि इङ्लिस प्रिमियर लिगका एक रेफ्रीलाई निलम्बन गरिएको छ।
इङ्लिस रेफ्रीको नियमन गर्ने निकाय प्रोफेसनल गेम म्याच अफिसियल्स लिमिटेडले डेभिड कुटेलाई तत्काल प्रभावले निलम्बन गरिएको जनाएको छ।
सामाजिक सञ्जालमा भाइरल भएका दुई भिडियोमा उनले क्लोप र लिभरपुलबारे आफ्नो व्यक्तिगत धारणा व्यक्त गरेको देखिन्छ। क्लोपलाई उनले अपमानजनक शब्द प्रयोग गरेका छन्। त्यस्तै, जर्मन प्रशिक्षक घमण्डी रहेको कारण मन नपर्ने बताएका छन्।
फुटेज कहिले खिचिएको हो र यसमा हेरफेर गरिएको हो या होइन भन्नेबारे तत्काल स्पष्ट हुन सकेको छैन। लिभरपुलले उक्त भिडियोबारे कुनै प्रतिक्रिया दिएको छैन।
क्लोपले गत सिजनको अन्त्यपछि क्लब छोडेका थिए। उनको स्थानमा डच प्रशिक्षक अर्ने स्लटलाई टोलीमा समावेश गरिएको थियो। क्लोपले गत सिजन आर्सनलविरुद्धको खेलमा कुटे भिडियो रेफ्री हुँदा गल्ती गरेको आरोप लगाएका थिए। आर्सनलका कप्तान मार्टिन ओडेगार्डले डिबक्स भित्र बललाई समातेका थिए। तर, रेफ्रीले लिभरपुललाई पेनाल्टी नदिएपछि क्लोप रिसाएका थिए।
सन् २०२० मा एभर्टनविरुद्ध मर्सिसाइड डर्बीको क्रममा भर्जिल भान डाइकमाथि जोर्डन पिकफोर्डले ट्याकल गरेका थिए। तर, भिडियो रेफ्रीले नरहेको भन्दै कुटेबारे गुनासो गरेका थिए। त्यतिखेर डच डिफेन्डर भान डाइकलाई घुँडामा गम्भीर चोट लागेको थियो।