काठमाडौं। पछिल्लो समय भारतीय टेस्ट टोलीमा खराब प्रदर्शन गर्ने खेलाडी को होलान्? स्वभाविक जवाफ आउँछ– कप्तान रोहित शर्मा र स्टार ब्याट्सम्यान विराट कोहली। रोहित र कोहलीले यस वर्षको घरेलु सिजनमा गरेको प्रदर्शनले पनि यस्तै भन्छ।
उनीहरूले खेलेका पछिल्ला १० इनिङमा एक–एक टेस्ट अर्धशतक बनाएका छन् भने न्यूजिल्यान्डसँग ३ – ० ले पराजित हुँदै भारत विश्व टेस्ट च्याम्पियनसिपको फाइनलको दौडबाट बाहिरिएको छ।
रोहितले यी १० इनिङमा १३.३० को औसतमा १३३ रन बनाएका छन्। कोहलीले यस अवधिमा २१.३३ को औसतमा १९२ रन बनाए। यस अवधिमा भारतले पछिल्लो १२ वर्षमा पहिलो पटक घरेलु मैदानमा टेस्ट सिरिज गुमाएको थियो भने इतिहासमा पहिलो पटक ह्वाइटवास भयो। त्यसयता यी दुवै सिनियर खेलाडीको निकै आलोचना भइरहेको छ।
त्यसैले अस्ट्रेलिया भ्रमणमा निस्किनुअघि मुख्य प्रशिक्षक गौतम गम्भीरलाई सोधिएको थियो, रोहित र कोहली लयप्रति चिन्तित हुनुहुन्छ? उनले भने, रोहित र कोहली धेरै बलियो अविश्वस भएका खेलाडी हुन्। उनीहरूले भारतीय क्रिकेटका लागि धेरै गरेका छन् र गरिरहनेछन्। अन्तिम सिरिजपछि उनीहरू राम्रो प्रदर्शन गर्न आतुर रहेको देखेको छु।
कोहलीले पछिल्लो टेस्ट शतक १६ महिनाअघि वेस्ट इन्डिजविरुद्ध बनाएका थिए। पछिल्लो पाँच वर्षमा उनले ३२ को औसत र दुई शतक मात्रै बनाएका छन्। कोहली ३६ वर्ष पुगिसकेका छन्। यता, कप्तान रोहित ३७ वर्षका छन्। यस्तो अवस्थामा अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले दुई सिनियर ब्याट्सम्यानको दीर्घकालीन फर्ममाथि प्रश्न उठाएका थिए।
उनले भनेका थिए, रोहितको कप्तानी राम्रो देखिँदैन। अर्कोतर्फ अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच वर्षमा केवल दुई टेस्ट म्याच शतक बनाउनले कुनै पनि शीर्ष क्रमका ब्याट्सम्यान सम्भवतः टोलीमा राख्न नहुने हो। तर, कोहली टोलीमा अझै छन्। यो मलाई सही लागेन, उनले भनेका थिए।
भारतीय क्रिकेटसँग पोन्टिङ कुनै सम्बन्ध नरहेको भन्दै गम्भीरले उनको आलोचना समेत गर्न भ्याए।न्युजिल्यान्डसँगको हारपछि भारतीय टोली आफूलाई प्रमाणित गर्न आतुर रहेको उनले बताए।
गम्भीरका अनुसार अस्ट्रेलियामा सबैभन्दा ठूलो चुनौती भारतको तुलनामा तीव्र गतिको पिच हुनेछ। अस्ट्रेलियाको पिच स्पिनमैत्री छ। तर, नोभेम्बर २२ देखि पर्थमा सुरु हुने शृंखलामा आफ्नो टोली पहिले ब्याटिङ गर्न तयार रहेको उनले सुनाए। हामी धेरै पटक अस्ट्रेलिया गइसकेका छौं, त्यसैले त्यो अनुभव महत्त्वपूर्ण हुनेछ यदि हामी आफ्नो क्षमताअनुसार खेल्यौं भने उत्कृष्ट कुनै पनि विकेटमा कसैलाई पनि हराउन सक्छौं।