काठमाडौं। भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीरले कप्तान रोहित शर्मा र स्टार ब्याट्सम्यान विराट कोहलीको बचाउ गर्दै दुई सिनियर खेलाडी रन बनाउन आतुर रहेको र अस्ट्रेलियामा बलियो पुनरागमन गर्ने बताएका छन्।
गम्भीरले न्युजिल्यान्डविरुद्धको घरेलु शृंखलामा तीनवटै टेस्ट हारेपछि भारतीय टोली दबाबमा रहेको भन्ने आरोपको पनि खण्डन गरे। ‘भारतीय टोलीमा अविश्वसनीय खेलाडी छन्, जसले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। मलाई कुनै दबाब महसुस हुँदैन। भारतीय टोलीको प्रशिक्षक हुन पाउनु सम्मान र सौभाग्यको कुरा हो,’ उनले भने।
भारत र अस्ट्रेलियाबीचको पहिलो टेस्ट खेल नोभेम्बर २२ देखि पर्थमा सुरु हुनेछ। डंकन फ्लेचरको जस्तै दबाब महसुस भएको हो कि भन्ने प्रश्नमा गम्भीरले भने, ‘म परिवर्तनको बारेमा होइन, पाँच टेस्ट म्याचको बारेमा सोचिरहेको छु। तर म भारतीय टोलीमा केही अविश्वसनीय खेलाडीहरू देख्छु जो राम्रो प्रदर्शन गर्न आतुर छन्।’
रोहित शर्माले व्यक्तिगत कारणले पहिलो टेस्ट खेल्न नसके उपकप्तान जसप्रित बुम्राहले टोलीको नेतृत्व गर्ने पनि भारतीय प्रशिक्षकले पुष्टि गरेका छन्। उनले ओपनरका लागि केएल राहुल र अभिमन्यु ईश्वरनसँग विकल्प रहेको पनि बताए।