काठमाडौं। आर्सनलले इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीसँग १–१ गोलको बराबरी खेलेको छ।
शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा नौ अंकले पछि रहेको मिकेल आर्टेटाको टोलीले लिगमा जित्न बिर्सेको चार खेल भइसकेको छ।
एक अंकले आर्सनल अंक तालिकाको चौथो स्थानमा उक्लेको छ। तर, जितविहीन यात्राले शीर्षस्थानमा रहेको लिभरपुलसँग भने स्पष्ट खाडल देखिन थालेको छ। चेल्सी गोलअन्तरका आधारमा आर्सनलभन्दा एक स्थान अर्थात् तेस्रो स्थानमा छ।
स्टामफोर्ड ब्रिजमा ६०औं मिनेटमा ग्याब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए। तर, त्यसको १० मिनेटपछि पेड्रो नेटोले बराबरी गोल फर्काए।
आर्सनल पछिल्लो दुई सिजन म्यानचेस्टर सिटीसँग केही अंकले पछि पर्दै उपविजेता बनेको थियो। फेरि डिफेन्डिङ च्याम्पियनको निकटतम प्रतिद्वन्द्वी बन्ने अपेक्षा गरिएको थियो। तर, सिटी र आर्सनलले पछिल्लो समय लय समात्न सकेका छैनन्। सिटी पनि पछिल्ला चार खेलमा पराजित भएको छ।
तर, आर्सनलका कप्तान मार्टिन ओडेगार्डले लिग बाँकी नै रहेकाले पुनरागमन गर्ने आशा व्यक्त गरे। ‘गत सिजन को डिसेम्बरमा हामीले कठिन समय बितायौं र पुनरागमन गर्यौं। हामीसँग जित्ने मानसिकता छ र यसलाई निरन्तरता दिनुपर्छ,’ उनले भने।