काठमाडौं। इप्सविच टाउनले आइतबार राति भएको खेलमा टोटनह्यामलाई २–१ ले पराजित गर्दै प्रिमियर लिगमा सन् २००२ पछि पहिलो जित हात पारेको छ।
सामी स्जमोडिक्स र लियाम डेलापको गोलको मद्दतमा इप्सविच टाउनले जित निकालेको हो। योसँगै प्रमोटेड इप्सविचले रेलिगेसन जोन छाडेको छ।
इप्सविचले २२ वर्षपछि प्रिमियर लिगमा पहिलो जित हात पारेको हो। स्जमोडिक्सले भने, ‘हामी पहिलो हाफमा गोलको हकदार थियौं। टोटेनह्यामले दोस्रो हाफमा संघर्ष गर्दै अवसर सिर्जना गरेको थियो। तर, हामी जित निकाल्न सफल भयौं।’
इप्सविचको यो सिजन पहिलो जित हो। १७औं स्थानमा उक्लिएको इप्सविचले ११ खेलबाट ५ बराबरी र एक जितसहित आठ अंक पुर्याएको छ। समान खेल खेलेको टोटनह्याम भने १६ अंकसहित १०औं स्थानमा छ।
इप्सविचले खेललाई सुरुदेखि नै टोटनह्यामको पोस्टलाई व्यस्त बनाएको थियो। तर, सुरुआती अग्रता भने ३१ मिनेटमा लियो। टोटेनह्यामका डिफेन्डर क्रिस्टियन रोमेरोले बल क्लियर गर्नेबेला गलत हेडर गरेपछि स्ट्राइकर स्मोडिक्सले उत्कृष्ट ओभरहेड किक मार्फत गोल गरे।
४३औं मिनेटमा मिडफिल्डर ओमारी हचिन्सनको पासमा डेलापले गोल गरे। गोलकिपर गुग्लिल्मो भिकारियोले स्जमोडिक्सको लो क्रसलाई बचाउने क्रममा उनले रिबाउन्डमा गोल गरेका हुन्।