काठमाडौं। म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजले आइतबार लेस्टरविरुद्ध शानदार गोल गर्दै क्लबका लागि आफ्नो २५०औं खेल पूरा गरेका छन्। यो क्लब करियरमा उनको कीर्तिमानी खेल हो।
ओल्ड ट्राफोर्डमा इङ्लिस प्रिमियर लिगको खेल सुरु हुनुअघि फ्रेम गरिएको सर्ट पाएका उनले १७ औं मिनेटमा अमाड डायलोको ब्याक हिलमा गोल गरेका थिए। उनले प्रहार गरेको लो सट लेस्टरका गोलकिपर म्याड्स हर्मनसेनले बचाउन सकेनन्।
सन् २०२० मा स्पोर्टिङ लिस्बनबाट युनाइटेडमा आबद्ध भएयता फर्नान्डिजले सबै प्रतियोगितामा ८३ गोल गरिसकेका छन्। उनले ३८ औं मिनेटमा अर्को गोलको अवसर प्राप्त गरेका थिए। तर, लेस्टरका भिक्टर क्रिस्टियनसनलाई डिफ्लेक्ट हुँदै बलले जाली चुम्न पुग्यो।
अन्तरिम मुख्य प्रशिक्षक रुड भान निस्टेलरोयको यो अन्तिम खेल हो। सोमबार नयाँ प्रशिक्षक रुबेन अमोरिमले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दैछन्।
निस्टेलरोयले गत महिना पूर्वप्रशिक्षक एरिक टेन हागलाई बर्खास्त गरेपछि आफ्नो अस्थायी स्पेलको क्रममा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन खोजिरहेका थिए।
निस्टेलरोयको प्रशिक्षणमा युनाइटेडले यसअघिका तीनमध्ये दुई खेलमा जित र एकमा बराबरी खेलेको थियो।