फिक्कल। नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान एवम् गोलरक्षक अञ्जिला तुम्बापो सुब्बा आइतबार गृहनगरमा सम्मानित भएकी छन्। जिल्ला फुटबल संघ इलामले सुब्बालाई उनको गृहनगर सूर्योदय नगरपालिकामा सम्मान गरेको हो।
अञ्जिलाको कप्तानीमा नेपालले घरेलु मैदानमा आयोजना भएको दुई साफ महिला च्याम्पियनसिप खेलेको थियो। यस्तै, साउदी अरबमा भएको वाफ च्याम्पियनसिप पनि नेपालले उनकै कप्तानीमा खेलेको हो।
दुई वर्षअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल ३–१ ले पराजित भएको थियो। यसपल्ट पनि बंगलादेशसँग नेपाल २–१ ले पराजित हुँदै उपाधि जित्न वञ्चित भयो। वाफमा भने नेपाल जोर्डनसँग निर्धारित समयमा २–२ को बराबरी खेलेको थियो। तर, पेनाल्टी सुटआउटमा ५–२ ले पराजित हुँदै उपविजेतामा सीमित भयो।
कोशी प्रदेश फुटबल संघका सदस्य ज्ञानबहादुर राई र संघका उपाध्यक्ष डिडेन देवानले अञ्जिलालाई दोसल्ला र सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन्। साथै जिल्ला फुटबल संघमा आबद्ध इलाम १ का ६ वटा क्लबले उनलाई मायाको चिनो प्रदान गरे।