काठमाडौं। नेपालले आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा तेस्रो जित निकालेको छ। आइतबार भएको खेलमा नेपालले थाइल्यान्डमाथि १०६ रनको विशाल जित हात पारेको हो।
छनोटमा चार खेल्दा नेपाल ६ अंकका साथ दोस्रो स्थानमा छ। नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ र दोस्रोमा कुवेतलाई १०८ रनले हराएको थियो। घरेलु टोली युएईविरुद्धको खेलमा भने नेपाल १३ रनको पराजित भयो। अपराजित रहेको युएई आठ अंकसहित शीर्ष स्थानमा छ।
नेपालले सोमबार कुवेत र बुधबार युएईको सामना गर्नेछ। यी दुवै खेलमा फराकिलो जित निकाले नेपाल विश्वकपमा पुग्नेछ। दुई अंक जोडेको थाइल्यान्ड र अंकविहीन कुवेत भने प्रतियोगिताबाट बाहिरिसकेका छन्। नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १६ ओभरमा सबै विकेट गुमाउँदै ३३ रन मात्रै बनाउन सक्यो।
थाइल्यान्डका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। नेपालकी कुसुम गोद्दरले सर्वाधिक तीन विकेट लिइन्। रिचाकुमारी चौधरी र रिया शर्माको नाममा समान दुई विकेट रह्यो। यस्तै, कप्तान पूजा महतोले एक विकेट लिइन्।
त्यसअघि अजमानमाको द सेभेन रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको थियो।
सानाले सर्वाधिक ५३ रन बनाइन्। जारी प्रतियोगितामा यो उनको पहिलो अर्धशतक हो। ४६ बल खेलेकी उनले सात चौका प्रहार गरिन्।
अर्की ओपनर सावित्री धामीले २८ रन बनाइन्। उनीहरूबची पहिलो विकेटका लागि ८८ रनको साझेदारी भएपछि नेपाल बलियो स्थितिमा पुगेको थियो। कप्तान पूजा महतो चार रनमा क्याच आउट हुँदा सोनीले १९ रनको योगदान दिइन्। अन्य ब्याटरको प्रदर्शन भने उत्साहजनक रहेन।