काठमाडौं। इङ्लिस प्रिमियर लिगमा चेल्सीले पछिल्ला वर्षहरूमा आर्सनलविरुद्ध खराब प्रदर्शन गरेको छ। तर, स्टामफोर्ड ब्रिजमा आइतबार हुने खेलअघि लिगको तालिकामा भने चेल्सी आफ्नो प्रतिद्वन्द्वीभन्दा माथि छ।
अर्थात् एन्जो मारेस्काको नेतृत्वमा रहेको चेल्सी चौथो स्थानमा छ। त्यसैले मारेस्का आइतबार आर्सनलविरुद्ध हुने भेटअघि पूर्ण आत्मविश्वासी देखिन्छन्। उनको भनाइ छ, चेल्सीले जुनसुकै टिमलाई हराउन सक्छ।
अर्मेनियाली टोली नोआलाई ८–० ले हराएपछि उनले भनेका थिए, ‘यो नतिजासँगै हामी कुनै पनि टोलीविरुद्ध जित्न सक्छौं भन्ने महसुस भएको छ। आइतबार खेल जित्नेमा कुनै शंका छैन।’ मारेस्का र मिकेल अर्टेटाले म्यानचेस्टर सिटीमा पेप ग्वार्डिओलाको सहायकका रूपमा आफ्नो प्रशिक्षण करिअर सुरु गरेका थिए।
अर्टेटाले सन् २०१९ देखि आर्सनल हेर्ने जिम्मेवारी पाए। मारेस्काले भने त्यसको दुई वर्षपछिबाट मात्रै क्लब करियरमा सिनियर टोली हेर्ने मौका पाएका हुन्। पहिलोपल्ट सिरी ‘ए’ पार्मा हेरेका उनी त्यसको दुई वर्ष इङ्लिस लिगमा फर्किए। अघिल्लो सिजन लेस्टर सिटीलाई उनले च्याम्पियनसिपको उपाधि दिलाएर प्रिमियर लिगमा उकालेका थिए।
माउरिसियो पोचेटिनो बर्खास्त भएपछि प्रिमियर लिगको अनुभव नभएको उनलाई चेल्सीले जोखिम मोलेर मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो। यद्यपि, उनीसँग सिटीले ट्रेबल (प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिग) उपाधि जित्दा पेपको सहायक बनेको अनुभव भने भरिपूर्ण थियो।
पेपलाई मारेस्का संसारको सबैभन्दा उत्कृष्ट प्रशिक्षक मान्छन्। उनीसँग नजिक रहेर काम गर्न पाउनुमा निकै भाग्यशाली उनी ठान्छन्। भन्छन्, ‘हामी दुवैले पेपसँग काम गर्न पायौं। यो मामिलामा हामी भाग्यशाली रह्यौं।’
अर्टेटा र उनी पहिलोपल्ट ‘टचलाइन’मा उत्रिन लागेका हुन्। त्यसैले चेल्सीलाई आर्सनलले कडा चुनौती दिने अपेक्षा गरेको उनले बताए। हुन त आर्सनल पछिल्लो समय लयमा छैन। प्रिमियर लिगका पछिल्ला तीन खेलमा आर्सनलले एक अंक मात्र जोडेको छ।
‘अरुभन्दा आर्सनल र म्यानचेस्टर सिटीसँग सबैभन्दा राम्रो टोली ठान्छु,’ उनले भने, ‘मैले यो कुरा धेरै पटक भन्नुको कारण सिटीले एउटै प्रशिक्षकसँग नौ वर्षदेखि काम गरिरहेको छ। आर्सनलले पनि पाँच वर्षदेखि काम गरिरहेको छ। यो क्लबलाई ठूलो फाइदा हो।’
इटालियन पूर्वखेलाडी आफ्नो पहिलो सिजनमा चेल्सीले गरेको प्रगतिबाट खुसी छन्। चेल्सीले पहिलो १० खेलमा पाँच जित निकाल्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ भने गोल अन्तरका आधारमा आर्सनलभन्दा अगाडि छ। इङ्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी कोल पामर आर्सनलविरुद्धको खेलअघि घाइते भएका छन्। तर, आइतबार हुने खेलमा उनी उपलब्ध हुनेमा उनी आशावादी देखिन्छन्।