काठमाडौं। लिभरपुलले नयाँ प्रशिक्षक अर्ने स्लटको नेतृत्वमा लिगका ११ मध्ये ९ खेलमा जित निकालेको छ। डार्विन नुनेज र मोहमद सलाहको गोलको मद्दतमा लिभरपुलले शनिबार घरेलु मैदानमा एस्टन भिल्लामाथि २–० को नतिजा निकाल्दै जितको यात्रा कायम राखेका हुन्।
म्यानचेस्टर सिटीको हार लिभरपुलका लागि ‘प्रि–म्याच टनिक’ थियो। नुनेजले २०औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। लिभरपुलका गोलकिपर काओइमिन केलेहरले केही महत्त्वपूर्ण बचाउ गर्दै टोलीको उक्त अग्रता बचाए। सलाहले ८४औं मिनेटमा अर्को गोल गर्दै लिभरपुललाई सहज जित दिलाए। प्रिमियर लिगमा यो उनको १०औं गोल हो।
जुर्गेन क्लोपको स्थानमा नेदरल्यान्ड्सका पूर्वखेलाडी स्लट लिभरपुल सम्हाल्न आइपुगेका थिए। ‘क्लोज’ सिजनमा जिम्मेवारी सम्हालेका उनले सबै प्रतियोगिताका १७ मध्ये १५ खेल जित दिलाएका छन्। इङ्लिस प्रिमियर लिगमै पनि लिभरपुलले ११ खेलबाट २८ अंक पुर्याएको छ। यो साबिक सिटीभन्दा पाँच अंक बढी हो। भिल्लाको भने यो सिजन तेस्रो हार हो। १८ अंकका जोडेको भिल्ला आठौं स्थानमा झरेको छ।
खेल सकिएपछि लिभरपुलका मिडफिल्डर एलेक्सिस म्याक एलिस्टरले सिजन बल्ल सुरु भएको प्रतिक्रिया दिए। टोलीको उपाधि सम्भावनाबारे सोध्दा उनले भने, ‘सिजन बल्ल सुरु भएको छ। त्यसैले अहिल्यै नै हामी उपाधिको दाबेदार हो भनेर म मान्दिन।’
सिजनको सुरुआतमा अपेक्षाकृत आरामदायी प्रदर्शन गरेको लिभरपुलले आर्सनललाई पराजित गरेको छ। अझ खतरनाक ब्राइटन र होभ अल्बियनलाई हराएको छ भने बुन्डेसलिगा च्याम्पियन बायर लेभरकुजेनलाई पनि पाखा लगाएको छ।
यसको मुख्य राज के हो त? प्रशिक्षक स्लट भन्छन्, ‘यस्तो कठिन समयमा पनि हाम्रा अधिकांश खेलाडी फिट छन्। हामीसँग काउन्टर अट्याकमा तीव्र गतिका खेलाडी पनि छन्। भिल्लाविरुद्धको खेलमा पनि यही कारण दुई गोल गर्न सम्भव भएको हो।’