काठमाडौं। नेपाली क्रिकेटका लेजेन्ड खेलाडी शक्ति गौचनले उमेरसमूहको राष्ट्रिय टोली सम्हाल्ने भएका छ। नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई यु–१९ टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।
उनको प्रशिक्षणमा नेपालले नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म युएईमा हुने एसीसी मेन्स यु–१९ एसिया कप खेल्ने छ। शक्ति नेपाली राष्ट्रिय टोलीका पूर्वअलराउन्डर हुन्। उनी दायाँ हाते ब्याट्सम्यान हुन् भने लेफ्ट–आर्म स्पिन हुन्। उनले नेपाली राष्ट्रिय टोलीमा सन् २००२ जुलाईमा ओमानविरुद्धको खेलमा डेब्यु गरेका थिए।
जुलाई २०१८ मा शक्तिले नेदरल्यान्डविरूद्वको एकदिवसीय खेलपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्न्यासको घोषणा गरेका थिए। उनले आफ्नो पहिलो एकदिवसीय भ्रमण पश्चात्नै अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यासको घोषणा गरेका हुन्।
शक्ति नेपाली क्रिकेट इतिहासमै अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन्। उनले इटालीविरूद्व २००५ फेब्रुअरीमा आईसीसी विश्वकप छनोट चरणको सिरिजअन्तर्गत यो उपलब्धि हात पारेका थिए। उक्त खेलमा शक्ति १०३ बलमा १०६ रन सहित अवजीत रहेका थिए। शक्तिले २०१८ एभरेस्ट प्रिमियर लिग पछि घरेलु क्रिकेटबाट समेत सन्न्यास लिएका थिए।
पोखरा राइनोजबाट समूह चरणको अन्तिम खेल पछि उनले सबै खाले क्रिकेटबाट सन्यास लिएका थिए। त्यसयता उनी रूपन्देहीमा आफ्नो एकेडेमी सञ्चालन गर्दै आएका थिए। पछिल्लो समय लुम्बिनीले खेल्ने उमेरसमूहको प्रतियोगितामा उनले प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका थिए। उनले पहिलोपल्ट राष्ट्रिय टोली सम्हाल्न लागेका हुन्।