काठमाडौं। सईम अयुब र अब्दुल्लाह शफीकको शतकीय साझेदारीसँगै पाकिस्तानले तीन एकदिवसीय शृंखलाको दोस्रो खेलमा अस्ट्रेलियालाई पराजित गरेको छ। शुक्रबार भएको खेलमा पाकिस्तानले घरेलु टोलीमाथि ९ विकेटको जित हात पारेको हो।
योसँगै तीन खेलको शृंखला १-१ को बराबरीमा पुगेको छ। पहिलो खेलमा अस्ट्रेलिया दुई विकेटले विजयी भएको थियो। अस्ट्रेलियाले दिएको १६४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २६.३ ओभरमा एक विकेट गुमाउँदै १६९ रन बनाएको हो।
पाकिस्तानका ओपनर अयुबले सर्वाधिक ८२ रन बनाए। ७१ बल खेलेका उनले पाँच चौका र ६ छक्का प्रहार गरे। अर्का ओपनर शफीकले अविजित रहँदै ६४ रन बनाए।
उनले चार चौका र तीन छक्का प्रहार गरे। उनीहरूबीच पहिलो विकेटका लागि १३७ रनको साझेदारी भएको थियो। बाबर आजम १५ रनमा अविजित रहे।
अस्ट्रेलियाका ऐडम जम्पाले एक विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको अस्ट्रेलियाले ३५ ओभरमा सबै विकेट गुमाउँदै १६३ रन बनायो।
अस्ट्रेलियाका स्टिभ स्मिथले सर्वाधिक ३५ रन बनाए। ४८ बल खेलेका उनले पाँच चौका र एक छक्का प्रहार गरे। अन्य ब्याटरको भने राम्रो प्रदर्शन हुन सकेन।
पाकिस्तानका हारिस रउफले सर्वाधिक पाँच विकेट लिए। शाहीन साह अफरीदीले तीन विकेट लिँदा नसीम साह र मोहम्मद हुसनैनको नाममा समान एक विकेट रह्यो।