काठमाडौं। अघिल्लो वर्ष आइसिसी विश्वकप लिग–२ का अन्तिम १२ मध्ये ११ खेलमा जित हासिल गरेको नेपालले यस संस्करण पनि उत्तिकै बलियो प्रदर्शन गर्ने आशा गरिएको थियो।
उही टिम र उही खेलाडी भएको कारण पनि त्यस्तो ठूलो आशा राख्नु स्वाभाविक हो। तर, टोलीले भने त्यस्तो लक्षण बिलकुलै देखाएन। घरेलु मैदानमा नामिबिया र नेदरल्यान्ड्ससँग भएको लिग–२ को पहिलो शृंखलामा एक खेलमा मात्रै जित हासिल गर्दा नै नेपाली टोली गत वर्षजस्तो बलियो नरहेको स्पष्ट भइसकेको थियो।
त्यसैले कप्तान र प्रशिक्षक परिवर्तनदेखि टोलीमा पनि नयाँ खेलाडी ल्याउनुपर्ने चर्को माग पनि उठिहरेको थियो। तर, चर्को आलोचनाबीच नै क्यानडा र अमेरिका भ्रमणमा सबै कुरालाई गलत साबित गर्दै टोली लयमा फर्काउने लक्ष्य राखेका कप्तान रोहितकुमार पौडेलले अन्तत: राम्रो खेल्न नसकेको स्वीकार गरेका छन्।
‘जुन लक्ष्य लिएर क्यानडा र अमेरिका पुगेका थियौं, त्यो सोचेजस्तो भएन। दुवै भ्रमणमा चुक्यौं। क्यानडाबाट अमेरिका पुग्दा टिम सेभमा आइसकेको थियो। तर, अमेरिकासँग दुई खेल गुमायौं। टुरलाई समअप गर्ने बेला मिस आउट भएको छ। क्यानडामा ब्याटिङमा राम्रो गर्न सकेनौं। त्यही मेन प्वोइन्ट हुनुपर्छ,’ उनले भने।
नेपालले क्यानडामा घरेलु टोली र ओमानसँग शृंखला खेलेको थियो। तर, चारमध्ये तीन खेलमा नेपाल पराजित हुन पुग्यो। एक खेल भने वर्षाका कारण रद्द हुँदा नेपालले एक अंकको राहत पायो। त्यसपछि नेपाली टोली अमेरिका हाँकिएको थियो। अमेरिकामा पनि सोचेजस्तो नतिजा नेपालले हात पार्न सकेन।
घरेलु टोलीसँग तीन विकेट र ३७ रनले हार बेहोरेको नेपालले साबिक विजेता स्कटल्यान्डविरुद्ध भने पाँच विकेटको जित निकाल्यो। अर्को खेल भने वर्षाको कारण पूरा हुन पाएन र एक अंक नेपालको खातामा जोडियो। लिग–२ को १२ खेल सकिँदा नेपाल ६ अंकसहित तालिकाको पुछारबाट दोस्रो स्थानमा छन्। अब २४ खेल बाँकी रहँदा नेपाललाई गत वर्ष झैं ओडिआई मान्यता बचाउन निकै चुनौतीपूर्ण हुने देखिन्छ।
रोहित पनि यो तथ्यलाई नकार्न सक्दैनन्। ‘अघिल्लो संस्करणमा राम्रो गरेका थियौं। तर, यसपल्ट भने हामीले सोचेजस्तो सुरुआत भएको छैन। त्यसैले हाम्रो यात्रा चुनौतीपूर्ण हुने देखिन्छ। त्यसैले अझै बढी फोकस भएर आगामी खेलमा सुधार गर्दै जानुपर्ने आवश्यकता देखिन्छ,’ उनले भने।
अहिले टोलीमा रहेका खेलाडीलाई ५० र २० ओभरमा दुवैमा आफूलाई ढाल्न मुस्किल भएको देखिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले दुवै फर्म्याटमा एकै खेलाडी खेलाइदिँदा पनि समस्या देखिनु जायज नै हो। यसले नै १२ खेलको नतिजामा समस्या देखिएको रोहितको स्वीकारोक्ति छ। त्यसैले टी–ट्वेन्टीलाई भन्दा दुई दिवसीय खेल बढी खेलाउनुपर्ने उनी माग छ।
‘हामीले २० ओभरको खेल धेरै खेल्यौं। त्यसैले ५० ओभरको खेललाई एडप्ट गर्न गाह्रो भयो। ५० ओभरको खेल धेरै खेल्नुपर्ने हुन्छ। त्यसैले दुई दिवसीय खेल खेल्नुपर्ने आवश्यकता देखिएको छ। यो फर्म्याटको खेल भयो भने अझै खेलाडीलाई परिपक्व बनाउन मद्दत गर्छ,’ उनले भने।
नेपालले यस वर्ष विश्वकप, एसिसी प्रिमियर लिग, त्रिकोणात्मक शृंखलालगायत २६ टी–ट्वेन्टी आई खेल खेलेको थियो। त्यस्तै एकदिवसीयमा भने नेपालले १५ मात्रै खेल खेल्यो। नेपाली टोलीका पूर्व प्रशिक्षक जगत टमाटा पनि लिग–२ मा राम्रो गर्न घरेलु क्रिकेटमा ५० ओभरको खेल बढाउनुपर्ने आवश्यकता महसुस गर्छन्।
‘घरेलु क्रिकेटमा अझै बढी ५० ओभरको खेल गराए अन्य केटाहरू पनि बलियो भएर आउँछन्। त्यसैले यसमा फोकस गर्नुपर्छ,’ उनले भने।