काठमाडौं। आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका र क्यानडामा भएको त्रिकोणात्मक शृंखला खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। टोली बिहीबार स्वदेश फर्किएको हो।
नेपालले क्यानडामा घरेलु टोली र ओमानसँग शृंखला खेलेको थियो। तर, चारमध्ये तीन खेलमा नेपाल पराजित हुन पुग्यो। एक खेल भने वर्षाका कारण रद्द हुँदा नेपालले एक अंकको राहत पायो। त्यसपछि नेपाली टोली अमेरिका हाँकिएको थियो। अमेरिकामा पनि सोचेजस्तो नतिजा नेपालले हात पार्न सकेन।
घरेलु टोलीसँग तीन विकेट र ३७ रनले हार बेहोरेको नेपालले साबिक विजेता स्कटल्यान्डविरुद्ध भने पाँच विकेटको जित निकाल्यो। अर्को खेल भने वर्षाको कारण पूरा हुन पाएन र एक अंक नेपालको खातामा जोडियो।
लिग–२ को १२ खेल सकिँदा नेपाल ६ अंकसहित तालिकाको पुछारबाट दोस्रो स्थानमा छन्। अब २४ खेल बाँकी रहँदा नेपाललाई गत वर्ष झैं ओडिआई मान्यता बचाउन निकै चुनौतीपूर्ण हुने देखिन्छ।