काठमाडौं। च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडसँग २–१ ले पराजित भएपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) का कप्तान मार्क्विनहोसले टोलीको असक्षम र राम्रोसँग काम गर्न नसकेको भन्दै दुःख व्यक्त गरेका छन्।
पहिलो पटक उपाधि जित्ने लक्ष्यसहित पिएसजी फेरि एकपटक प्रतियोगितामा प्रवेश गरेको थियो। तर, चार खेलमा एक मात्र जित निकाल्दै ३६ क्लब सहभागी प्रतियोगितामा २५औं स्थानमा छ। पुछारका १२ टोली आठ राउन्डपछि बाहिरिने छन्।
‘हामी दक्षताको मामलामा सुधार गरिरहेका छैनौं। टोलीमा अक्षमता छ र राम्रोसँग काम गर्न सकेका छैनौं,’ उनले भने। बायर्न म्युनिख र म्यानचेस्टर सिटीजस्ता दुई ठूला टोलीसँग खेल्न बाँकी रहँदा पिएसजीलाई नकआउट चरणमा स्थान बनाउन चुनौतीपूर्ण हुने देखिएको छ। शीर्ष आठ टोली अन्तिम १६ मा पुग्नेछन् भने नवौंदेखि २४औं स्थानमा रहने टोली नकआउट प्लेअफमा पुग्नेछन्।
मार्क्विनहोसले फ्रेन्च भाषामा भनेका छन्, ‘यदि हामी खेल जित्न चाहन्छौं भने हामीले राम्रोसँग आआफ्नो काम गर्नुपर्छ।’ पिएसजी गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको थियो। सन् २०२० मा भने पहिलोपल्ट फाइनल खेलेको थियो।
तुलनात्मक रूपमा फ्रान्सेली क्लब ब्रेस्टले यस सिजनभन्दा पहिले कुनै पनि युरोपेली प्रतिस्पर्धामा खेलेको थिएन। यो क्लबको बजेट पिएसजीको भन्दा धेरै कम छ। यद्यपि, मोनाको तेस्रो स्थानमा छ भने ब्रेस्ट च्याम्पियन्स लिगको अंक तालिकामा चौथो स्थानमा छ। लिलेले रियल मड्रिड र एट्लेटिकोलाई पराजित गरेको छ भने युभेन्टससँग बराबरी खेलेको छ।
उनीहरूले अपेक्षा गरेभन्दा राम्रो नतिजा निकालिरहेका छन्। तर, पिएसजी भने ठिक विपरित दिशामा छ। खेलको १४ औं मिनेटमा पिएसजीका मिडफिल्डर वारेन जायरे एमरीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए। तर, त्यसको चार मिनेटपछि नाहुएल मोलिनाले गोल गर्दै एट्लेटिकोलाई बराबरीमा ल्याए। इन्जुरी समयमा एन्जल कोरियाले गोल गर्दै एट्लेटिकोलाई २–१ को पुनरागमन जित दिलाए।
‘हामी यस्तो नाजुक स्थितिमा कहिल्यै थिएनौं। विपक्षी टोलीविरुद्ध जवाफी हमला गर्न सक्षम थियौं। यी कुराहरू हामीले सुधार गर्न आवश्यक छ। हामीसँग ठूला खेलहरू आउँदैछन् र अंक प्राप्त गर्न आवश्यक छ,’ मार्क्विनहोसले भने।