काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले सिक्किममा हुने ४० औं गभर्ननर्स गोल्डकप फुटबलमा सिधै क्वार्टरफाइनलमा प्रवेश पाएको छ।
चर्च ब्वाइज गत साउनमा दशरथ रंगशालामा भुटानी लिग च्याम्पियन पारो एफसीविरुद्ध २–१ ले हारेपछि एएफसी च्यालेन्ज लिगको समूह चरणमा स्थान बनाउन असफल भएको थियो। र, यो क्लब त्यसयता पहिलोपल्ट प्रतियोगितामा फर्किन लागेको हो।
रंगशाला मर्मतसम्भार, कोभिड १९ महामारीलगायतको कारण गर्भनर्स गोल्डकप सन् २०१९ यता पहिलोपल्ट सञ्चालन गर्न लागिएको आयोजक सिक्किम फुटबल संघ (एसएफए) ले जनाएको छ। नोभेम्बर ८ देखि २१ सम्म पाल्जोर स्टेडियम, गान्तोकमा हुने ४० औं संस्करणमा इन्डियन सुपर लिग (आईएसएल), आई लिग, कोलकाता लिगसहितका १६ टिमले नकआउटको आधारमा प्रतिस्पर्धा गर्नेछन्। नेपालको चर्च ब्वाइज र भुटानको ट्रन्सपोर्ट युनाइटेडसहित दुबईको रोयल एफसी र मलेसियाको केडिएन एफसी विदेशी टोली भएको कारण सिधै क्वार्टरफाइनलमा स्थान बनाएका हुन्।
चर्च ब्वाइजले नोभेम्बर १५ मा सेमिफाइनल प्रवेशका लागि खेल्ने छ। ३९औं संस्करणको विजेता मोहम्मडन स्पोर्टिङको अनुपस्थितिमा गोल्डकपमा नर्थइस्ट युनाइटेड, चेन्नाई एफसी, गोकुलम केरला, दिल्लीको सुदेभा एफसी, कोलकाताको डायमन्ड हार्बर एफसी, आर्मी रातो, पञ्जाव पुलिस, कालिघाट मिलन समिति र मिजोरमको खावजल भेटघाट एफसीले प्रतिस्पर्धा गर्दै छन्।
घरेलु टिमका रूपमा सिक्किमको ‘ए’ डिभिजन लिगका शीर्ष दुई टिम सिक्किम पुलिस र गान्तोक हिमालयन एससी खेल्दै छन्। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन (जीटीए) को टिमले दार्जिलिङको प्रतिनिधित्व गर्नेछ।
पछिल्लोपल्ट गर्भनर्स गोल्डकपको उपाधि जित्ने नेपाली टिम मनाङ मर्स्याङ्दी हो। उसले सन् २०१८ मा भएको ३८औं संस्करणको फाइनलमा आर्मी रातोलाई १–० ले हराएको थियो।