काठमाडौं। जमाल मुसियालाले दोस्रो हाफमा गोल गरेपछि बायर्न म्युनिखले च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको खेलमा बेन्फिकामाथि १–० को जित निकालेको छ।
खेलको ६७औं मिनेटमा जर्मनीका मिडफिल्डर मुसियालाले हेडरमार्फत गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। यो नतिजासँगै बायर्नले चार खेलबाट ६ अंक पुर्याएको छ। आक्रमणमा गति लिन नसकेको बेनफिका समान अंकसहित १९औं स्थानमा छ।
‘हामीले अहिलेसम्म राम्रो गरिरहेका छौं। तर, अझ राम्रो गर्न सक्छौं। समग्रमा हामीलाई हाम्रा खेलाडीमा धेरै विश्वास छ,’ बायर्नका प्रशिक्षक भिन्सेन्ट कोम्पनीले भने। बायर्नले सबै प्रतियोगितामा लगातार चौथो ‘क्लिन सिट’ राखेको छ।
युरोपको शीर्ष क्लब प्रतियोगिता यस सिजन समूह चरणबाट लिग चरणमा परिवर्तन भएको छ, जहाँ ३६ टोलीले आठ-आठ खेल खेल्नेछन्। अंक तालिकाको शीर्ष आठ टोली सीधै अर्को चरणमा प्रवेश गर्दछ। तर, बाँकी १६ टोली प्लेअफमा प्रवेश गर्नेछन्।
रेलको समस्याको कार्ण समर्थक समयमै पुग्न नसकेपछि बायर्न र बेनफिकाबीचको खेल १५ मिनेट ढिला सुरु भएको थियो। एस्टन भिल्ला र बार्सिलोनासँग लगातार हार बेहोरेपछि बायर्न विजयी लयमा फर्कन आतुर थियो।
सुरुमा कम्प्याक्ट पोर्चुगिज डिफेन्स लाइनलाई चिर्न बायर्नले संघर्ष गर्नुपरेको थियो। तर, बिस्तारै सुधार भयो र ह्यारी केनले पहिलो मौका पाए। खेलको ३९औं मिनेटमा केनको प्रहार र माइकल ओलिसेको ‘रिबाउन्ड’ प्रयासलाई गोलकिपर अनातोली ट्रुबिनले रोकेका थिए।