काठमाडौं। च्याम्पियन्स लिगमा इन्टर मिलानसँग १–० को हार बेहोरेपछि आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो टोलीविरुद्ध गएको पेनाल्टीको दुई निर्णयलाई स्वीकार्न निकै कठिन भएको बताएका छन्।
खेलको एक मात्र गोल मध्यान्तरअघि इन्टरले पेनाल्टीमा गरेको थियो। मेहदी तारेमीले प्रहार गरेको फ्रिकिक बल मिकेल मेरिनोको पाखुरामा लाग्न पुगेको थियो। सोही ह्यान्ड बलमा प्राप्त पेनाल्टीलाई हाकान कालहानोलुले गोलमा परिणत गरेका हुन्।
पहिलो गोल बेहोरेपछि भिडियो सहायक रेफ्रीले खेलमा मेरिनोको पेनाल्टी अपिल अस्वीकार गरेका थिए। त्यतिखेर उनलाई बल रोक्नेक्रममा इन्टरका गोलकीपर यान सोमरले टाउकोमा मुक्का प्रहार गरेका थिए।
‘ह्यान्ड बलको निर्णय ठिक छ। तर, त्यसो भए मेरिनोमाथि प्रहार भएको मुक्कामा पनि हजार प्रतिशत दण्ड हुनुपर्छ। यी दुई निर्णय समान हुनुपर्थ्यो, भएन। त्यसैले स्वीकार गर्न धेरै गाह्रो भयो।’
यो सिजन च्याम्पियन्स लिगमा आर्सनले पहिलोपल्ट गोल खाएको हो। आर्सनलले बराबरी गोलका लागि दबाब दिए पनि इन्टरको डिफेन्स लाइनलाई छिचोल्न सकेन।