काठमाडौं। बार्सिलोनाले च्याम्पियन्स लिगको अर्को ठूलो जितमा फेरि एक पटक आफ्नो आक्रामक कौशल देखाएको छ।
क्याटलान क्लबले बुधबार रेड स्टार बेलग्रेडलाई ५–२ गोलअन्तरले पराजित गर्दै लगातार सातौं खेलमा जित निकालेको हो। ह्यान्सी फ्लिकको टोलीले जितको दौडमा प्रतिम्याच औसत चार गोल गरेको छ।
बार्सिलोनालाई ठूलो जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे। उनले क्याटलन क्लबबाट पछिल्ला १० खेलमा १५ गोल पुर्याएका छन्। लयमा रहेका राफिन्हासँगै इनिगो मार्टिनेज र वैकल्पिक खेलाडी फर्मिन लोपेजले पनि एक गोल थपे।
‘हामीले आज फेरि निकै राम्रो खेल्यौं,’ लेवान्डोस्कीले भने, 'हामीले खेल नियन्त्रणमा लिएका थियौं र तीन अंक बटुल्यौं।’ च्याम्पियन्स लिगमा बार्सिलोनाले चार खेलमा सर्वाधिक १५ गोल गरेको छ। तर, नौ अंक जोडेको बार्सिलोना शीर्ष स्थानको लिभरपुलभन्दा तीन अंकले पछि छ।
रेड स्टारका मिडफिल्डर टिमी एल्सनिकले भने, ‘बार्सिलोना राम्रो फर्ममा थियो, क्लासिको जितेको थियो र धेरै गोल गरेको थियो। यो निकै चुनौतीपूर्ण खेल थियो। तर, हामीले राम्रो प्रदर्शन गर्यौं, विशेष गरी पहिलो हाफमा।’
बार्सिलोनाले गत साता सिटी डर्बीमा स्पेनिस ला लिगामा एस्पान्योललाई ३–१ ले हराएको थियो भने त्यसअघि स्पेनिस लिग ‘क्लासिको’ मा प्रतिद्वन्द्वी रियल मड्रिडलाई ४–० ले हरायो। च्याम्पियन्स लिगमा बायर्न म्युनिखलाई पनि ४–१ ले पाखा लगायो।
यस्तै, स्पेनिस लिगमा सेभियालाई ५–१ तथा अलाभेसलाई ३–० र च्याम्पियन्स लिगमा योङ ब्वाइजलाई ५–० ले हराएको थियो।