काठमाडौं। राष्ट्रिय महिला फुटबल टिमका डिफेन्डर हीराकुमारी भुजेल र मिडफिल्डर दीपा शाही घुँडाको शल्यक्रियापछि बी एन्ड बी हस्पिटलबाट बुधबार ‘डिस्चार्ज’ भएका छन्।
साफ महिला च्याम्पियनसिप २०२४ मा कार्तिक २ गते दशरथ रंगशालामा भुटानविरुद्ध भएको नेपालको पहिलो खेलमा घाइते भएका थिए। एमआरआईइ रिपोर्टमा हिरालाई एसीएल र एमसीएल इन्ज्युरी भएको पाइएको थियो भने दीपालाई एसिएल इन्ज्युरी भएको देखिएको थियो। त्यसपछि दुवैलाई कार्तिक ४ गते हस्पिटल भर्ना गरिएको थियो। डा अमित जोशीको नेतृत्वमा दुवैको शल्यक्रिया कार्तिक ७ गते गरिएको थियो।
नेपाली टिमका महत्वपूर्ण खेलाडी रहेका उनीहरूले हस्पिटलमै केही दिनयता फिजियोथेरापी गराइरहेका थिए। १७ दिनपछि हस्पिटल छाडेर एन्फा होस्टेल, सातदोबाटो पुगेका उनीहरूले अब एन्फामै फिजियोथेरापी गराउनेछन्। उनीहरूलाई प्रतिस्पर्धात्मक खेलमा फर्किन कम्तीमा सात महिना लाग्ने बताइएको छ।
अनुभवी हीरा र उदीयमान प्लेमेकर दीपालाई चोटको कारण गुमाएपछि उनीहरूको अभाव नेपाली टिममा प्रष्टै देखिएको थियो। भुटानविरुद्ध सबैभन्दा खराब नतिजाको रूपमा गोलरहित खेलेपछि नेपाल माल्दिभ्सलाई ११–० र श्रीलंकालाई ६–० ले पराजित गर्दै समूह विजेता भएको थियो।
तनावपूर्ण सेमिफाइनलमा भारतलाई १–१ पछि टाइब्रेकरमा पन्छाएको नेपाली टिम उपाधि होडमा बंगलादेशविरुद्ध २–१ ले हारेको थियो। नेपालले साफ महिलाको सात संस्करणमध्ये ६ पल्ट फाइनल खेलेको हो र ती सबै फाइनलमा पराजय बेहोरेको छ। अर्थात्, नेपाली महिला टिम अझै पहिलो उपाधि जित्न संघर्षरत् रहेको छ।