काठमाडौं। काठमाडौं महानगरपालिकाले कोटेश्वर सरस्वती पार्कमा नेपाली राष्ट्रिय टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को भित्तेचित्र बनाएको छ।
मौलिक तथा प्राचीन महत्वका चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने कामलाई महानगरपालिकाले कलात्मक चित्र लेखन सुरु गरेको थियो। तर, बर्खाका कारण स्थगित भएको चित्र लेखन पुन: सुरु गरिएको हो।
महानगरका अनुसार ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरूमा कलात्मक चित्र लेखनलाई निरन्तरता दिइएको छ। यसका लागि गत फागुन १७ गते सम्झौता भएको थियो। पहिलो चरणमा सुन्धारा, नयाँ बानेश्वर, प्रदर्शनीमार्गका भित्तामा कलात्मक चित्र लेखन सम्पन्न भएका थिए।
अहिले कोटेश्वर सरस्वती पार्कमा विभिन्न फुटबल र फुटबलसँग सम्बन्धित व्यक्तिहरूको चित्र बनाउने कार्य भइरहेको महानगरले जनाएको छ। जसअनुसार ‘साम्बा’को भित्तेचित्र बनाइ सकिएको हो। यसपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भित्ता, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्ता, बानेश्वर मीनभवन, लैनचौर समाज कल्याण परिषद्को भित्तामाहरू चित्र कोरिने महानगरले जनाएको छ।