काठमाडौं । भारतीय यू–१९ विश्वकप विजेता कप्तान तथा आईपीएल स्टार उन्मुक्त चन्द नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्समा अनुबन्धित भएका छन् ।
भारतलाई सन् २०१२ को यू–१९ विश्वकप जिताएका उन्मुक्तलाई लुम्बिनीले अनुबन्ध गरेको हो । उनले भारतलाई विश्वकप जिताउने क्रममा फाइनलमा शतक समेत प्रहार गरेका थिए ।
उनले दिल्ली डेयरडेभिल्स र मुम्बई इन्डियन्सबाट इन्डियन प्रिमियर लिग समेत खेलेका थिए । उनी हाल अमेरिकाको मेजर लिग क्रिकेटमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । चन्दको आगमनले लुम्बिनी लायन्सलाई बलियो बनाउने विश्वास क्लबले लिएको छ ।
लुम्बिनीमा आबद्ध भएपछि उन्मुक्त चन्दले भनेका छन्, “नेपाल प्रिमियर लिगको यस पहिलो सिजनमा लुम्बिनी लायन्सको खेलाडीको रुपमा म मैदानमा उत्रिन आतुर छु । विश्वका विभिन्न क्षेत्रहरूमा क्रिकेट खेलप्रतिको माया बढेको देख्न पाउँदा म निकै खुसी छु । मैले अहिलेसम्म प्राप्त गरेको क्रिकेट खेलको अनुभवलाई आत्मसात् गरी म मेरो टिमलाई भरपूर योगदान दिन चाहन्छु ।”
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले भनेका छन्, “उन्मुक्त चन्द जस्तो अनुभवी खेलाडीलाई टिममा स्वागत गर्न पाउँदा हामी निकै खुसी छौँ । उनले विश्वभर प्राप्त गरेको अनुभव र उपलब्धिहरूले हाम्रो टिमलाई बलियो बनाउने मात्र नभई यस लिगको स्तरलाई पनि माथि लैजानेमा हामी विश्वस्त छौं ।”
नेपाल प्रिमियर लिगको पहिलो सिजन मंसिर १५ देखि सुरु हुदैछ । पुस ६ गतेसम्म चल्ने प्रतियोगितामा ८ फ्रेन्चाईज टिमले प्रतिस्पर्धा गर्नेछन् ।