काठमाडौं। साफ महिला च्याम्पियनसिप २०२४ को उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टिमकी डिफेन्डर पूजा राना गृहनगर कोहलपुरमा सम्मानित भएकी छन्।
राइट ब्याक भएपनि दशरथ रंगशालामा अन्तिम दुई खेल लेफ्ट डिफेन्समा खेलेकी पूजालाई कोहलपुर नगरपालिकाले ५१ ह्जार रुपैयाँसहित सम्मान गरेको हो। साफको फाइनल यात्राको क्रममा नेपाली टिमको लागि विशेष योगदान गरेकाले पूजालाई सम्मान गरिएको नगरप्रमुख पूर्णप्रसाद आचार्यले बताए।
कार्यक्रममा उपप्रमुख संगीता सुवेदीको पनि उपस्थिति रहेको थियो। गृहनगरमा पाएको पहिलो सम्मानले भविष्यमा थप मिहिनेत गर्दै ठूला उपलब्धिका निम्ति अगाडि बढ्ने उत्साह प्रदान गरेको पूजाले बताइन्।
५ वर्षअघि विराटनगरमा भएको साफ महिलामार्फत् राष्ट्रिय टिममा डेब्यू गरेकी उनी सातौं संस्करणमा भुटानविरुद्धको पहिलो खेलमै घाइते भएकी थिइन्। त्यसपछि मैदानमा फर्किदै भारतविरुद्ध सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्, जसमा नेपालले तनावपूर्ण खेल टाइब्रेकरमा जितेर डिफेन्डिङ च्याम्पियन बंगलादेशविरुद्ध फाइनल खेल्ने पक्का गरेको थियो। तर, घरेलु टिमलाई २–१ ले हराउँदै बंगलादेशले उपाधि रक्षा गरेको थियो।