काठमाडौं। भिक्टर ग्योकेरेसको ह्याट्रिकसँगै पोर्चुगिच क्लब स्पोर्टिङ सिपीले च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीलाई पराजित गरेको छ।
घरेलु मैदानमा मंगलबार राति भएको खेलमा सिपीले इङ्लिस क्लब सिटीलाई ४–१ ले पराजित गरेको हो। जितसँगै चार खेलबाट १० अंक पुर्याएको सिपी दोस्रो स्थानमा उक्लिएको छ। पराजित सिटी समान खेलबाट सात अंकसहित छैटौं स्थानमा छ। लिगमा उसको यो पहिलो हार हो।
सिटीका स्ट्राइकर एर्लिङ हालान्डले पेनाल्टी मिस गरेका थिए। तर, ग्योकेरेसले ह्याट्रिकको क्रममा दुई स्पट किकलाई गोलमा परिणत गर्दै सिपीलाई ४–१ को जित दिलाएका हुन्।
स्विडेनका अन्तर्राष्ट्रिय खेलाडी ग्योकेरेस अहिले युरोपका सबैभन्दा चर्चित स्ट्राइकरमध्ये एक हुन्। उनले यो सिजन सिपीका लागि १७ खेलमा २१ गोल गरेका छन्।
हालान्डलाई विश्वकै उत्कृष्ट स्ट्राइकरका रुपमा लिइन्छ। तर, ह्यान्डबलपछि पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गर्न सकेनन्। उनले ६९औं मिनेटमा प्रहार गरेको बल क्रसबारमाथिबाट बाहिरिएको थियो।
खेलको चौथो मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, उक्त अग्रता ३४ मिनेटभन्दा बढी टिक्न सकेन। ग्योकेरेसले ३८औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।
४८औं मिनेटमा ग्योकेरेसले अर्को गोल गर्दै खेललाई २–१ को स्थितिमा पुर्याए। ८० औं मिनेटमा फेरि गोल गर्दै सिपीलाई ४–१ को जित दिलाए। योसँगै उनको ह्याट्रिक पूरा भयो।