काठमाडौं। इंग्लिस क्रिकेटर स्टेफन इस्किनाजी नेपाल प्रिमियर लिग (एनपीएल) का लागि काठमाडौं गुर्खाजमा आवद्ध भएका छन्। काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमान्डु गुर्खाजले इंग्लिस क्रिकेटमा जमेका यी विकेटकिपर ब्याटरलाई लिएको हो।
दक्षिण अफ्रिकामा जन्मेर अस्ट्रेलियामा हुर्किएका ३० वर्षे इस्किनाजीले मिडलसेक्सबाट इंग्लिस क्रिकेट काउन्टी खेल्दै आएका छन्। उनले ८८ प्रथम श्रेणीको क्रिकेटमा ९ शतकका साथ ४३ सय भन्दा बढी रन बनाएका छन्।
ग्लोबल फ्रेन्चाइज लिगमा इस्किनाजीले आफुलाई आक्रामक खेलाडीको रुपमा प्रमाणित गरिसकेका छन्। द हन्ड्रेडमा उनको स्ट्राइक रेट १५१ माथि र भाइटालिटी ब्लास्टमा उनको स्ट्राइक रेट १ सय ४० माथिको रहेको छ। द हन्ड्रेडमा वेल्स फायरबाट खेल्दै इस्किनाजीले १० खेलमा २ सय ६६ र भाइटालिटी ब्लास्टमा ८७ खेलमा १ शतक र १८ शतकका साथ २५ सय भन्दमा बढि रन बनाएका छन्।
‘स्टेफन इस्किनाजी आक्रामक खेलाडी हुन्, उनको आगमनको हामी प्रतिक्षामा छौं। नेपाल प्रिमियर लिगमा उनको अनुभव र आक्रामक स्वभावको ब्याटिङ काठमाडौं गुर्खाजलाई निकै उपयोगि हुने विश्वास हामीले लिएका छौं। नेपालमा चिसो मौसम इंग्ल्यान्डका खेलाडीका लागि निकै सुहाउदो हुने भएकाले हामी इस्किनाजी सफल हुने अपेक्षा हामीले गरेका छौं,' काठमान्डु गुर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले भने।
इस्किनाजीले पर्थ स्कोरचर्सबाट बिग बासमा खेलेका छन्। उनले बिग बासको १३ खेलमा २ सय ५८ रन बनाएका छन्। उनीसँग यस बाहेक बंगलादेश प्रिमियर लिग र अवुधावी टी–१० लिगको पनि अनुभव छ। ‘काठमाडौं गुर्खाजबाट टियु क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग खेल्न निकै आत्तुर छु, काठमाडौं जस्तो राम्रो शहरको टोलीबाट खेल्न पाउदा म आफुलाई गौरान्वित महसुस गर्दछु र एनपीएल खेल्न निकै उत्सुक छु। चाँडै तपाईहरुसँग भेट्ने नै छु,' इस्किनाजीले भने।
काठमाडौं गुर्खाजले अनुवन्धन गरेको उनी तेस्रो विदेशी खेलाडी हुन्। नेदरल्यान्ड्सका ओपनर माइकल लेभिट र नामिबियाका कप्तान मर्वी जेर्राड इरसमसलाई गुर्खाजले यसअघि नै अनुबन्धन गरिसकेको छ।
काठमान्डु गुर्खाजको मार्की खेलाडीमा करण केसी रहेका छन्। अक्सनबाट गुर्खाजले शाहव आलम, भीम सार्की, राशिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कँडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतिक श्रेष्ठलाई लिएको थियो।