काठमाडौं। इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसिबी)ले शाकिब अल हसनको बलिङ एक्सनको छानबिन गर्ने भएको छ। काउन्टी च्याम्पियनसिपमा सरेबाट खेल्दा अम्पायरले साकिबको बलिङ एक्सनबारे रिपोर्ट गरेका थिए। त्यसैले इसिबीले छानबिन गर्न लागेको हो।
सेप्टेम्बरमा टान्टनमा समरसेटविरुद्धको उपाधि भिडन्तमा ३७ वर्षीय शाकिबले नौ विकेट लिएका थिए। शाकिब सन् २०१०–११ पछि पहिलो पटक काउन्टी च्याम्पियनसिपमा खेलिरहेका थिए। इङ्ल्यान्डका आठ खेलाडी राष्ट्रिय टोलीमा रहँदा शाकिबले दुई प्रमुख स्पिनर विल ज्याक्स र ड्यान लरेन्सको अनुपस्थितिमा सरेसँग अल्पकालीन सम्झौता गरेका थिए।
तर, शाकिबले समरसेटलाई एक रनले जित्नबाट रोक्न सकेनन् र सरेले लगातार तेस्रो पटक उपाधि जित्न सफल हुन सकेन। उनलाई खेल्न प्रतिबन्ध लगाइएको छैन।
शाकिबको दुई दशक लामो करियरमा पहिलो पटक बलिङ एक्सन कुनै पनि प्रकारको जाँच गर्न लागिएको हो। यस अवधिमा शाकिबले आफ्नो अन्तर्राष्ट्रिय करियरमा ४४७ खेलमा ७१२ विकेट लिएका छन्, जसमा ७१ टेस्टमा २४६ विकेट पनि समावेश छ।
साकिबको अन्तर्राष्ट्रिय क्रिकेट अहिले अन्योलमा परेको छ। उनले सुरक्षाको कारण देखाउँदै गत महिना दक्षिण अफ्रिकाको टेस्ट टोलीबाट नाम फिर्ता लिएका थिए। विद्यार्थी आन्दोलनका कारण जुलाईमा ढलेको अवामी लिग नेतृत्वको सरकारमा पनि उनले सांसदको रूपमा काम गरेका थिए।