काठमाडौं। श्रीलंका–अमेरिकन क्रिकेटर लाहिरु मिलान्थाले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् । एक समय श्रीलंका ‘ए’ र श्रीलंकाको इमर्जिङ टोलीबाट खेलेका मिलान्था नेपाली भूमीसँग परिचित छन् ।
नेपाल क्रिकेट संघले दुई वर्षअघि आयोजना गरेको नेपाल टी–२० लिगमा उनी लुम्बिनी अल स्टारबाट खेलेका थिए । अल स्टार टोलीलाई विजयी बनाउने क्रममा मिलान्थाले १२२ माथिको स्ट्राइक रेटमा ३४९ रन बनाएका थिए । उनी सो प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा थिए । मिलान्थाले फाइनलमा २८ बलमा सर्वाधिक ४१ रन बनाएका थिए ।
जनकपुर बोल्ट्समा अनुबन्ध हुने मिलान्था चौथो विदेशी खेलाडी हुन् । बोल्ट्सले यसअघि नै न्युजिल्यान्डका प्रसिद्ध क्रिकेटर जिमी निसमलाई अनुबन्ध गरिसकेका छन् । बोल्ट्सका अर्का दुई विदेशी खेलाडीमा जोशुआ ट्रम्प र मोहम्मद मोहसनि छन् । लाहिरु जस्तै ट्रम्प र मोहसिन पनि अमेरिकी बेस क्रिकेटर हुन् ।
आसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायके र प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् ।