विराटनगर। विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल पुरुष यु–१९ राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा कर्णाली र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्।
प्रतियोगिताअन्तर्गत सोमबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा कर्णालीले मधेश प्रदेशलाई ४७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ।
टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ४५ ओभरमा सवै विकेट गुमाई १ सय ३३ रनको योगफल बनायो। कर्णालीका हिरालाल चनराले ४५ रन बनाउँदा मनिस थापाले २२ रन र यूनिस ठकुरीले २१ रनको योगदान दिए। मधेशका राजेश यादवले ४ विकेट लिँदा अफ्रुदिन रैनले ३ विकेट लिए।
१ सय ३४ रनको लक्ष्य पाएको मधेशले २७ दशमलव २ बलमा सवै विकेट गुमाई ८६ रनमा सिमित हुन पुग्यो। मधेशका मयन यादवले १५, जितेश मण्डलले १३ रनको योगदान दिए। कर्णालीका प्लेयर अफ द म्याच विपिन शर्माले ४ विकेट लिँदा यूनिस ठकुरीले ३ विकेट लिए। कर्णालीले खेलेको ५ खेलमा १ मा जित हात पार्दै २ अंककासाथ अन्तिम स्थानमा रहेको छ भने मधेशले खेलेको ५ खेलमा २ मा जित र ३ मा पराजित हुँदै ४ अंकका साथ पाँचौ स्थानमा रहेको छ।
त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्काे खेलमा सुदूरसँग कोशी प्रदेशले १ सय २३ रनको लज्जापद पराजित भोगेको छ। टस जितेर ब्याटिङ गरेको सुदूरले निर्धारित ५० ओभरको खेलमा ४७ दशमलव ४ बलमा सवै विकेट गु्माई १ सय ८३ रन बनायो। सुदूरका सूवराज खत्रीले ४४ रन बनाउँदा अविशेक थापाले ३७ रन र नरेन भट्टले २४ रन बनाए। कोशीका सौजन घिमिरेले ४ विकेट लिँदा विपिन महतोले २ विकेट लिए।
१ सय ८४ रनको विजयी लक्ष्य पाएको कोशीले २२ दशमलव ३ बलमा सबै विकेट गुमाउँदै ६० रनमा खुम्चियो। कोशीका सौजन घिमिरेले २६ रन बनाउँदा आशिष मगरले १३ रन बाहेक अरु ब्याटर चल्न नसक्दा लिगको अन्तिम खेलमा लज्जास्पद पराजय हुन पुग्यो। सुदूरका प्लेयर अफ द म्याच सचिन भट्टले ५ विकेट लिए। उनले ६ ओभरमा २ मेडन राख्दै ७ रन मात्र दिए त्यस्तै नरेन भट्टले पनि ४ विकेट लिए। सुदूरले सवै ५ खेल खेल्दै ५ मा जित हात पार्दै १० अंककासाथ दोस्रो स्थानमा रहेको छ भने कोशीले खेलेको ६ खेलमा १ खेलमा जित र ५ खेलमा पराजित हुँदै २ अंकका पुछारबाट दोस्रो स्थानमा रहेकोे छ।
मंगलबारको खेल बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा लुम्विनी र मधेश प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा वागमती र कर्णाली प्रदेशबीच अन्तिम लिग खेल हुनेछ ।