काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले युएईमा हुने एकदिवसीय क्रिकेट सिरिज जित्न कोशिश गर्ने बताएका छन् ।
संयुक्त अरब इमिरेट्स (युएई) संगको एकदिवसीय र टी- ट्वान्टी सिरिजका लागि त्यसतर्फ प्रस्थान गर्नु अगाडी कप्तान खड्काले एकदिवसीय सिरिज खेल्न नेपाली टोली उत्साहित रहेको बताए ।
‘खेलाडीमा जोश जाँगर देखिएको छ । पहिलो पटक वान डे सिरिज जित्न कोशिश गर्नेछौ ।’ उनले भने ।
नेपाली क्रिकेटले नयाँ हैसियतमा पुगेको बताउँदै कप्तान खड्काले अवसरसंगै चुनौती समेत रहेको स्विकार गरे ।
उनले भने, ‘हामी अब स्तरको क्रिकेट खेल्दैछौ । सिरिज हाम्रा लागि चुनौती समेत हो । हाम्रा सबै खेल रेकर्ड भएर बस्नेछ । सबै रकर्डको अर्थ हुनेछ ।’
त्यस्तै, प्रशिक्षक जगत टमाटाले दुबईमा नेपाली टिमले राम्रो क्रिकेट खेल्ने बताए । टोलीमा नयाँ अनुहार आएको जानकारी दिदै प्रशिक्षक टमाटाले नेपाली क्रिकेटलाई अगाडी लैजान युवा खेलाडी सक्षम रहेको बताए ।
‘जुन विश्वासले हामीले नयाँ अनुहार ल्याएका छौ । नेपाली क्रिकेटलाई अगाडी लैजान्छन् भन्ने लागेको छ ।’ उनले भने ।
नेपाली खेलाडीको बिदाई गर्दै सदस्य सचिव केशवकुमार विष्टले चुनौती, अभाव र अन्यौलताकाबीच नेपाली क्रिकेटले प्राप्त गरेको सफलताले ठुलो आश जगाएको बताए ।
नेपाली क्रिकेटको लोकप्रियता दिनप्रति दिन बढ्दै गएको उल्लेख गर्दै सदस्य सचिव विष्टले राज्यले क्षमता अनुसार क्रिकेटमा लगानी गरेको दाबी गरे ।