काठमाडौं। अस्ट्रेलियाले एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा पाहुना टोली पाकिस्तानलाई पराजित गरेको छ।
सोमबार भएको खेलमा अस्ट्रेलिया दुई विकेटले विजयी भएको हो। पाकिस्तानले दिएको २०४ रनको लक्ष्य अस्ट्रेलियाले ३३.३ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो।
योसँगै अस्ट्रेलियाले शृंखलामा १-० को अग्रता लिएको छ। अस्ट्रेलियाका जोस इंग्लिसले सर्वाधिक ४९ रन बनाए। ४२ बल खेलेका उनले चार चौका र तीन छक्का प्रहार गरे। स्टिभन स्मिथले ४४ रन बनाउँदा कप्तान प्याट कमिन्स ३२ रनमा अविजित रहे। अन्य ब्याटरले भने प्रभावशाली प्रदर्शन गर्न सकेनन्।
पाकिस्तानका हरिस रउफले सर्वाधिक तीन विकेट लिए। शाहिन साह अफ्रिदीले दुई विकेट लिँदा नसिम साह र मोहम्मद हुसेनको नाममा समान एक विकेट रह्यो।
त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले ४६.४ ओभरमा सबै विकेट गुमाउँदै २०३ रन बनाएको थियो।
कप्तान मोहम्मद रिजवनले सर्वाधिक ४४ रन बनाए। ७१ बल खेलेका उनले दुई चौका र एक छक्का प्रहार गरे। नसिम ४०, बाबर आजम ३७, अफ्रिदी २४ र इरफान खान २२ रनमा आउट भए।
अस्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक तीन विकेट लिए। प्याट कमिन्स र एडम जाम्पाले समान दुई विकेट लिँदा सेन एबट र मार्नस लामुसचेनको नाममा एक/एक विकेट रह्यो।