विराटनगर। नरेश श्रेष्ठ मेमोरियल पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी र सुदूरपश्चिम प्रदेशले विजयी भएका छन्।
प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा ४ खेलमा लगातार विजयी हुँदै ८ अंकका साथ सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश गरेको हो। सुदूरले अब उपाधिका लागि बुधबार लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ। सुदूरले अब लिगको अन्तिम खेल कोशी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ।
विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरले बागमती प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरको ४१ ओभरमा सबै विकेट गुमाई ११९ रन बनायो। बागमतीका रोशन विश्वकर्माले अविजित ५६ रन बनाउँदा उत्तम मगरले २५ रनको योगदान दिए। सुदूरका युवराज खत्रीले सर्वाधिक पाँच विकेट लिए। उनले १० ओभरमा एक मेडन राख्दै ५१ रन दिए। उनी खेलको प्लेयर अफ द म्याचसमेत भए।
१३० रनको विजयी लक्ष्य पाएको सुदूरले २८.५ बलमा पाँच विकेट गुमाउँदै पार गरेको थियो। सुदूरका प्रकाश पाण्डे अविजित ५२ रन बनाउँदा नरेश भट्टले ३८ रनको योगदान दिए। बागमतीका दीपक सेरलाले सर्वाधिक दुई विकेट लिए। सुदूरले खेलेको पाँच खेलमा चारमा जित निकाल्दै आठ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनलको यात्रा तय गरेको छ भने बागमतीले खेलेको पाँच खेलमा दुईमा जित र तीनमा पराजित हुँदै चार अंकका साथमा चौथो स्थानमा रहेको छ।
आजै बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई दुई विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ३८.१ बलमा सबै विकेट गुमाई १०१ रनको योगफल बनायो। कर्णालीका अरविन्द खत्रीले सर्वाधिक ४६ रन बनाए। गण्डकी प्लेयर अफ द म्याच अपराजित पौडेलले सर्वाधिक पाँच विकेट लिए। उनले १० ओभरमा तीन मेडन राख्दै १९ रन दिए।
१०२ रनको लक्ष्य पाएको गण्डकीले २६.१ बलमा आठ विकेट गुमाउँदै लक्ष्य भट्टयाएको छ। गण्डकीका रोहित अन्दले २२ रन बनाउँदा सिब्रिन श्रेष्ठले १९ रनको योगदान दिए। कर्णालीका युनिष ठकुरीले चार विकेट लिँदा अनुज चनराले दुई विकेट लिए। गण्डकीले सबै ६ खेल खैल्दा तीनमा जित हात पार्दै तेस्रो स्थानमा रहेर प्रतियोतिाबाट बाहिरिएको छ भने कर्णालीले खेलेको पाँच खेलमै पराजित भई लिगको पुछारमा रहेको छ।
सोमबारको खेल बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा कर्णाली र मधेश प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा कोशी र सुदूर प्रदेशबीच खेल हुनेछ ।