काठमाडौं। गुलसनकुमार झाको खराब बलिङसँगै नेपाल आइसिसी विश्वकप लिग २ मा अमेरिकासँग फेरि पराजित भएको छ।
आइतबार बिहान भएको खेलमा घरेलु टोलीसँग नेपाल ३७ रनले पराजित भएको हो। यो भ्रमणमा घरेलु टोलीसँग नेपालको दोस्रो हार हो। यसअघि नेपाल तीन विकेटले पराजित भएको थियो।
एकदिवसीय क्रिकेटमा गुलसनले करियरकै सबैभन्दा कमजोर बलिङ गर्दा अमेरिकाले नेपाललाई २८२ रनको लक्ष्य दिएको थियो। १० ओभर बलिङ गरेका गुलसनले ८७ रन खर्चिएर तीन विकेट लिएका थिए। यद्यपि, उनले खराब रेकर्ड बनाए। एकदिवसीय क्रिकेटमा यसअघि सबैभन्दा खराब रेकर्ड सोमपाल कामीको थियो।
उनले मुलतानमा भएको एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध १० ओभर बलिङ गर्दै सर्वाधिक ८५ रन खर्चिएका थिए। उक्त रेकर्ड गुलसनले ब्रेक गरे। योसँगै अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपाल अन्तिम बलअघि २४४ मा समेटिन पुग्यो र लगातार पराजय बेहोर्यो।
लिगमा नेपालको यो आठौं हार हो। ११ खेलबाट पाँच अंक जोडेको नेपाल पुछारबाट दोस्रो स्थानमा छ। अमेरिका भने शीर्ष स्थानमा उक्लिएको छ। नेपालभन्दा एक खेल बढी खेलेको अमेरिकाको १६ अंक छ।