काठमाडौं। एलेक्जेन्डर इसाकको निर्णायक गोलसँगै न्युक्यासल युनाइटेडले इङ्लिस प्रिमियर लिगको उपाधि दाबेदार आर्सनललाई पराजित गरेको छ।
सेन्ट जेम्स पार्कमा शनिबार भएको खेलमा न्युक्यासल १-० ले विजयी भएको हो। जितसँगै आठौं स्थानमा उक्लिएको न्युक्यासलले १० खेलबाट १५ अंक पुर्याएको छ।
समान खेलबाट १८ अंक रहेको आर्सनलले भने शीर्ष स्थानको म्याचेस्टर सिटीसँग अंक दूरी दुईमा झार्ने मौका गुमाएको छ। एक खेल कम खेलेको सिटीको २३ र लिभरपुलको २२ अंक छ।
घरेलु टोलीले १२औं मिनेटमै अग्रता लिएको थियो। एन्थोनी गोर्डनको क्रसमा इसाकले गोल गरेका थिए। त्यही गोल आर्सनललाई हराउन पर्याप्त बन्यो।